उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने


नेपाल समाचारपत्र, काठमाडौं । 

निधन भएको व्यक्तिको अपुताली सो व्यक्तिलाई निधन हुनुअघि कसले पालनपोषण गरेको हो भन्ने स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।

बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो ।दुवै दिदीबहिनीबीच बाबुआमालाई आफूले पालनपोषण गरेको उल्लेख गर्दै अपुतालीबाट प्राप्त भएको सम्पत्ति आफूले मात्र पाउनुपर्ने भन्दै विवाद भएको थियो । अपुतालीमा विवाद भएपछि मनोरमाले अपुतालीमा आफ्नो हक लाग्ने भन्दै बारा जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।बारा जिल्ला अदालतले मनोरमाको दाबी नपुग्ने ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालतले पनि अपुतालीबाट प्राप्त भएको सम्पत्ति ती दुई मात्र नभई तीनै जना दिदीबहिनीले पाउने भन्ने फैसला गरेको थियो ।

यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्योे । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतबाट भएकै फैसलालाई सदर गरी तीनैजना दिदीबहिनीले अपुतालीको सम्पत्ति पाउने भनी फैसला गरिदियो ।सर्वोच्चले डेढ वर्षअघि सो फैसला गरेको भए तापनि फैसलाको पूर्ण पाठ केही दिनअघि मात्र सार्वजनिक भएको छ । सर्वोच्चको फैसलामा उल्लेख छ– ‘कुनै ठोस र निश्चयात्मक प्रमाणबाट बाबुआमालाई वादी–प्रतिवादीमध्ये यसैले नै पालनपोषण, स्याहारसुसार र औषधोपचार गरेको हो भन्ने पुष्टि नभए त्यस्तो अवस्थामा उनीहरूको पालनपोषण र स्याहारसुसारमा वादी–प्रतिवादी सबैको नै भूमिका रहेको भनी बुझ्नुपर्ने हुन्छ ।’सर्वोच्चकोे सो फैसलापछि तत्कालीन भवानीपुर गाउँ विकास समितिको वडा नंं ६ को कित्ता नम्बर ९७ को सम्पत्तिमा तीन जना दिदीबहिनीले बराबर भाग पाउने देखिएको छ ।