सत्यमोहन जोशीको नाममा विद्यालय: राष्ट्रपतिको चाहना


नेपाल समाचारपत्र, ललितपुर ।

सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सरकारले जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको हो।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आज जोशी निवास ललितपुरमा पुगेर यस्तो जानकारी दिनुभएको होे।

जोशी निवासमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र उहाँले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताउनुभयो। उहाँले भन्नुभयो। राष्टझपतिज्यूले संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्टझपतिको सन्देश लिएर म नेपालको जीवित इतिहास बोकेका संस्कृविद् जोशीको निवासमा आएको हुँ।कार्यक्रममा मन्त्री श्रेष्ठले जोशीको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुने दाबी पनि गर्नुभयो।

संस्कृतिविद् जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसक्नुभएको जिकिर गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो। अब सरकारले उहाँको नाम अनन्तकालसम्म रहने गरी विद्याकुञ्ज अर्थात् विद्यालय निर्माण गर्नेछ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारसहित जोशी निवासमा पुगेका मन्त्री श्रेष्ठलाई जोशीले आफ्नो नाममा विद्यालय खोल्ने कुराले गर्व महसुस भएको बताउनुभयो।