खै त स्वास्थ्य मापदण्ड ?

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, -याली, भेला जस्ता भिडभाड हुने कार्य नगर्न आग्रह गरेको छ । मन्त्रालयले छिमेकी देशहरुमा कोभिड–१९ संक्रमण बढ्दो क्रममा देखिएको भन्दै यस्तो आग्रह गरेको हो । मन्त्रालयले सामाजिक तथा भौतिक दुरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुनपानीले राम्रोसँग हातधुने वा सेनिटाइजर प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएका जनस्वास्थ्य मापदण्ड पालना गरी संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवालामा अनुरोध गरेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण दर उच्च भएपछि लकडाउन गरिएको छ । छिमेकी देशमा लकडाउन हुँदा पनि सीमा नाका जोडिएका नेपालका जिल्लामा स्वास्थ्य सावधानी अपनाउन छाडिएको छ । पछिल्लो पटक कोरोनाविरुद्ध जनस्वास्थ्य मापदण्ड उल्लंघन हुन थालेका छन् ।

विश्वभर कोरोना महामारी सुरु भएको १ वर्ष भन्दा बढी भइसकेको छ । कोरोना संक्रमणकै कारण विश्वभर लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । संक्रमण दर शून्य हुन सकेको छैन । दैनिक सयको हाराहारीमा संक्रमित थपि“दैछन् । कोरोना न्यूनीकरणका लागि भन्दै कोरोनाविरुद्ध खोप सञ्चालन भइरहेका छन् । तर, रोकथामका लागि अपनाइने स्वास्थ्य सावधानी भने हट्न थालेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय कोरोना रोकथाममा स्वास्थ्य सावधानी पूर्णरुपमा हटेको छ भन्दा पनि फरक नपर्ला । स्थानीय क्षेत्रमा मास्क र सेनिटाइजर प्रयोग कम हुँदै गएको छ ।

हेटौंडामा पछिल्लो पटक कोरोनाविरुद्ध जनस्वास्थ्य मापदण्ड उल्लंघन हुन थालेका छन् । सबै क्षेत्र तथा स्थानहरुमा भिडभाड बढेको छ भने मानिसले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा सरसफाइ गर्ने जस्ता काम बिर्सन थालेका छन् । जसले गर्दा कोरोनाको दोस्रो लहर देखिनसक्ने भन्दै चिन्ता सुरु भएको छ । भारतमा संक्रमण बढेकाले नजिक रहेको हेटौंडामा पनि यसको लहर फैलने खतरा छ ।
मकवानपुर भारतको नाकानजिक रहेको जिल्ला हो । यसका कारण कोरोनाको लहर भारतबाट यहाँ फैलिन सक्छ ।

सभा/सम्मेलन तथा पिकनिकस्थलमा हुने भिडभाडले कोरोनाको दोस्रो लहर शुरु होला भन्ने चिन्ता हुन थालेको मकवानपुरका स्वास्थ्यकर्मीको चिन्ता छ । हेटौंडा–११ मा रहेको शहीद स्मारक, हेटौंडा–५ मा रहेको पुष्पलाल पार्क, मकवानपुरगढी दरबारलगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आवतजावत पछिल्लो समय निकै बढेको छ । तर, जोखिमयुक्त ठाउँमा स्वास्थ्य मापदण्ड पालना हुन छाडेका छन् ।

लकडाउनपछि बल्ल खुल्न पाएका पर्यटकीय क्षेत्रमा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गराएरमात्र सञ्चालन गर्नुपर्ने भए पनि पर्यटकीय क्षेत्रहरु निर्वाध खुलेका छन् । शैक्षिक संस्थामा पनि भौतिक दुरी कायम गर्दै मास्क र सेनिटाइजर अनिवार्य गराएरमात्र अध्ययन/अध्यापन गराउनुपर्नेमा त्यसो हुन सकेको छैन ।

कँहीकतै पनि कोरोना रोकथामका लागि अपनाइने मापदण्ड पालना भएका छैनन् । पालना गराउन सरकारी निकायले समेत कम चासो देखाउने गरेको प्रष्ट देख्न सकिन्छ । शनिबार तथा बिदाका दिन शहीद स्मारकमा सयौं आन्तरिक तथा वाह्य पर्यटक पुग्ने गर्छन् । केही महिना अघिसम्म मास्कबिना भित्र प्रवेश नदिएको स्मारक व्यबस्थापन समितिले हाल उक्त नियम लागु गरेको छैन । देशका हरेक जिल्लाबाट आउने मानिसहरु एकै ठाउँमा भेला हुँदा संक्रमणको जोखिम बढ्नसक्ने चिकित्सकहरु बताउँछन् । यसको असरले पहिलेजस्तो भयावह स्थिति आउनसक्छ भन्ने कुराको समयमा विचार गर्नु आबश्यक देखिएको उनीहरु बताउँछन् ।

हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक/कोरोना फोकलपर्सन भोलाप्रसाद चौलागाईं जिल्लामा कोरोना संक्रमितको संख्या आपत्तिजनक नभएका कारण त्यति कडाइ गर्नुपर्ने अबस्था नरहेको बताउनुहुन्छ । ‘कोरोना भाइरसविरुद्ध खोप लगाएकाहरु ढुक्क भएर हिँडेका कारण पनि हाल स्वास्थ्य मापदण्ड पालना गर्नेको संख्या कमी आएको हुनसक्छ,’ उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–सरकारले यस विषयलाई बिस्तारै सामान्यरुपमा लिन थालेको छ । हामी स्वास्थ्यकर्मीले पनि कोरोनालाई मात्र ध्यान दिन थाल्यौं भने अन्य रोगले जटिल रुप लिनसक्छ । त्यसैले हामीले कोरोनासँगै अन्य रोगप्रति पनि चासो देखाउन थालेका हौं । तर, भारतमा संक्रमण दर बढ्दै गएको बेला लापरबाही गर्दा पछुताउने अबस्था आउन सक्छ । स्वास्थ्य सावधानी अपनाइयो भने सुरक्षित हुन्छौं भन्ने सोच्नु जरुरी छ ।

विश्व महामारीका रुपमा रहेको कोभिड–१९ बाट हालसम्म नेपालमा २ लाख ७५ हजार ९ सय ६ जना संक्रमित भएका छन् । करिब ९८.५ प्रतिशत् निको भएको, करिब ०.४ प्रतिशत् उपचाररत् रहेको र १.१ प्रतिशत् (३ हजार १६ जना) को दुःखद् निधन भएको छ । बागमती प्रदेशमा आइतबारसम्म १ लाख ५२ हजार ८२ जनामा संक्रमण भएकोमा करिब ९९ प्रतिशत् निको भएको, करिब ०.२ प्रतिशत् (३ सय ३३ जना) उपचाररत् रहेको र ०.६७ प्रतिशत् (१ हजार १६ जना) को दुःखद् निधन भएको छ । पहिलो र दोस्रो प्राथमिकताको खोप अभियानमा कुल लक्षित जनसंख्या ६ लाख २ हजार ६ सय ६६ रहेकोमा करिब क्क६४ प्रतिशत्ले खोप लिएका छन् ।