संकटमा सेनाको साहसिक कार्य : एक किलोमिटर ठाडो भिरबाट निकाल्यो युवाको शव

168
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेनाको कालीजंग गण धुलिखेलले जिल्लाकै अग्लो स्थान बेथान्चोक गाउँपालिकाको बेथान्चोक नारायणस्थान मन्दिरमा दर्शन तथा क्यापिङ्ग गर्न गएका युवा भिरबाट खसे पछि अड्किएको अलपत्र अवस्थाको शव निकालेको छ । अथक मेहनत पछि भिरबाट सेनाको माउण्टेन वारफेयर तालिम प्राप्त गरेको टोली भिरमा पुगी युवाको शव निकालेको थियो ।

‘आफ्नै नेतृत्वमा माउण्टेन वारफेयर तालिम प्राप्त गरेको टोली लिएर घटनास्थल पुगें’–कालीजंग गण धुलिखेलका प्रमुख सेनानी गणपति मिलन थापाले भन्नुभयो–‘सम्भव नै देखिएन । पटक पटकको प्रयास पछि हाम्रो टोली भिरमा झर्ने निर्णय ग-यो ।

आफ्नै ज्यान जोखिममा राखेर तालिम प्राप्त टोलीले दुई घण्टाको अथक मेहनत पछि शव निकाल्न सम्भव थियो ।’ हेलिकप्टरबाट समेत सम्भव नहुने देखे पछि सेनाको टोलीले घटनास्थलको रेकि गरी माउण्टेन वारफेयर तालिम प्राप्त टोलीलाई भिरमा पठाएको गणपति मिलन थापाले भन्नुभयो ।

२०७७ चैत्र ६ गते विहान ८ बजे काठमाडौ विश्वविद्यालयमा कार्यरत चार जना कर्मचारीहरु पनौती नगरपालीकाबाट दक्षिण भागमा अवस्थित बेथानचोक गाउँपालिका वडा नम्वर ३ नारायणथान मन्दिर दर्शन तथा क्याम्पिङ्ग गर्न गएका थिए । क्याम्पमा जानेहरुमा धुलिखेल नगरपालिका वडा नम्वर ७ बस्ने २५ बर्षिय निरोज रिजाल, धुलिखेल नगरपालिका ६ का २४ बर्षिय अनमोल सापकोटा, बनेपा नगरपालिका १३ भैसेपाटीका २७ बर्षिय नारायण श्रेष्ठ र काठमाण्डौ महानगरपालिका भिमसेनगोला ३१ का ४५ बर्षिय राजेश श्रेष्ठ थिए ।

नारायणथान मन्दिर दर्शन गरी राती पाल टाँगी सोही स्थानमाबसेका उनिहरु मध्ये निरोज रिजाल चैत्र ७ गते बिहान करिब १ बजे देखी साढे २ बजे तिर पिसाब फेर्न जाने क्रममा नारायणस्थानको मन्दिरको पश्चिम भिरबाट तल खसेका थिए । सँगै सुतेका साथीहरु निदाएकाले तत्काल उनको खोजी हुन सकेन । खोजी भए पनि उ आउँछ होला भन्ने सोचेर पर्खिबसे । मध्यरातको अँध्यारोमा खोजतलासको बाँकी काम सम्भव पनि भएन ।

विहान ६ बजे साथिहरुले निरोजलाई नभेटे पश्चात खोज तलास गर्दा रिजाल भिरबाट खसेर मृत्यु भएको अवस्थामा देखे लगत्तै आफन्त, प्रहरीलाई खवर गरेका थिए । बेथान्चोक प्रहरी, स्थानीय जनप्रतिनिधि पुगेर घटनास्थल अध्ययन गरेसँगै नेपाली सेनाको टोली उक्त स्थानमा पुगेको थियो । कालीजंग गणका प्रमुखको नेतृत्वमा माउण्टेन वारफेयर तालिम प्राप्त गरेको दिउसो ४ बजे कर्णेल मिलन थापाको नेतृत्वमा पुगेको थियो ।

घटना स्थलमा पुगी भिरमा रहेको लासको उद्धार गर्न कठिनाई र चुनौतीपुर्ण भए पनि जिउ ज्यानको परवाह नगरी लास झिक्ने कार्य शुरु गरिएको थियो । कालीजंग गण धुलिखेल ब्यारेकको टोलीले ¥यापलिङ्गको लागी २ वटा बेश खडा गरी लास भएको स्थानको रेकी गरेको थियो । रेकी पश्चात उक्त गण टोली ¥यापलिङ्गको डोरी मार्फत १ किलोमिटर तल रहेको निरोज रिजालको शब भएको स्थानमा साँझ साढे ६ बजे पुग्न सफल भयो । शबलाई कपडामा पोको पारी डोरीमा झुन्ड्याई अथक मेहनतका साथ राती साढे ८ बजे नारायणस्थान मन्दिरमा रहेको मुख्य ¥यापलिङ्ग बेशमा ल्याउन सफल भएको कर्णेल मिलन थापाले बताउनु भयो ।

सुरक्षित रुपले कहालीलाग्दो भिरबाट युवकको शव उद्धार गरे लगत्तै सेनाको उक्त टोलीलाई जनप्रतिनिधि र स्थानीयहरुले आभार प्रकट गरेका थिए । मध्यरातमा शव प्रहरीलाई बुझाई सेनाको टोली फर्र्किएको थियो । लकडाउन पछि बेथान्चोक नारायणस्थान आन्तरिक पर्यटकहरुको आर्कषक केन्द्र बन्दै गए पनि पूर्वाधार निर्माण ढिलाई हुँदा जोखिम बढ्दै गएको स्थानीय लक्ष्मण लामाले बताउनु भयो ।

‘पूर्वाधार निर्माणमा स्थानीय सरकारले चासो दिएन’–उहाँले भन्नुभयो–‘भिरमा फलामको रेलिङ्ग लगाउने, खतरा लेखेर चिन्हहरु अंकित बोर्डहरु राख्ने जस्ता सामान्य कुरामा पनि स्थानीय सरकारले चासो दिन सकेको छैन । अझै खतरा बढ्ने संकेतलाई सममयै ध्यान पु-याउनु जरुरी छ ।’ स्थानीय सरकारका प्रमुख प्रेमबहादुर तिमल्सिनाले सुरक्षा सहितको पूर्वाधार निर्माणको कार्य शुरु भएको बताउनु भयो । यस अघि पनि बेथान्चोक जाने क्रममा एक युवकको शव फेला परेको थियो भने पटक पटक ब्यक्तिहरु हराउने क्रम भईरहेको छ ।

तस्विर सौजन्य : नेपाली सेनाको धुलिखेल स्थित कालीजंग गण