सरकारले दिएको आर्थिक सहयोग नलिने जोशी परिवारको घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको आर्थिक सहयोग नलिने निर्णय गरेको छ ।

जोशीको उपचार खर्चका लागि सरकारले १० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । तर, जोशी परिवारले उक्त रकम नलिने बताएको स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेले उक भिडियो सन्देशमार्फत उक्त कुरा राख्दै भनेका छन् ‘सरकारले अनर गर्‍यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ, सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस् र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।’

त्यस्तै, जोशीको स्वास्थ्य अवस्था जटिल रहेको जानकारी दिँदै पाण्डेले भने , ‘उहाँको स्वास्थ्य अवस्था जटिल नै छ । डाक्टरले निको हुन्छ, हामी प्रयास गरिरहेका छौं भनेका छन् । उनीहरुले हामीलाई ‘क्लियरफिकेसन’ दिएका छैनन् । विरामीको अवस्थाले गर्दा हामीले पनि बाहिर लैजाने स्थिति बनिसकेको छैन ।’ गत फागुन १३ गते मष्तिष्कघात भएका जोशिको नर्भिक अस्पतालमा उपचार हुँदै छ ।