भारतीय सहयोगमा पुनर्निर्माण सम्पन्न नुवाकोटका चार विद्यालयको उद्घाटन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारतको सहयोगमा पुर्ननिर्माण सम्पन्न चारवटा विद्यालय भवनको उदघाटन गरिएको छ । नुवाकोटमा पुनर्निर्माण गरिएका श्री सरस्वती माध्यामिक विद्यालय, श्री कालिका माध्यमिक विद्यालय, श्री पिमलटार माध्यमिक विद्यालय र श्री पञ्चलिङ्ने माध्यमिक विद्यालयको उदघाटन गरिएको हो ।

भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा विद्यालयको उदघाटन गरेका हुन् ।

चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैया रहेको भारतीय राजदुतावसले जनाएको छ । नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ । यी चार विद्यालयमा अध्ययनरत १८ सय भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा जोड दिए । कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।