सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकाविरुद्ध उजुरी दिन आह्वान


काठमाडौं, (नेस)

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीशहरू कुमार चुडाल र नहकुल सुवेदीका विरुद्ध उजुरी दिन चाहनेलाई संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएको छ।

समितिको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका मुख्य न्यायाधीशहरू चुडाल र सुवेदीका विरुद्ध उजुरी दिन चाहनेलाई १० दिनको समय दिएको हो।गत फागुनको २८ गते बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश चुडाल र उच्च अदालत, सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो। सो सिफारिस परिषद्ले संसदीय सुनुवाइ समितिसमक्ष पठाएको थियो।

सो सिफारिस प्राप्त भएपछि समितिको बैठक बसेको थियो। बैठकले सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका विरुद्ध कुनै उजुरी भए सम्बन्धित व्यक्तिलाई १० दिनको समय दिने निर्णय गरेको हो।नेपालको संविधानको धारा २९२ मा प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख र पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था गरिएको छ।त्यसरी सुनुवाइ गर्नका लागि संघीय संसद्का दुवै सदनका सदस्य रहने गरी संघीय कानुनबमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गर्नुपर्ने संविधानमा नै उल्लेख गरिएको छ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेको छ। हाल सर्वोच्चमा १९ जना न्यायाधीश रहेका छन्। सुनुवाइ समितिले सिफारिस भएकालाई अनुमोदन गरेमा सर्वोच्चमा दरबन्दीअनुसार न्यायाधीशको संख्या पूर्ण हुनेछ। सिफारिस भएका विरुद्ध उजुरी परेमा सो उजुरीका सम्बन्धमा छानबिन गरी त्यसको बारेमा सिफारिस भएकालाई स्पष्टीकरण दिन भनिन्छ।