सिस्नुको उपयोगिता



सिस्नुको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौं । सिस्नुसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको छ । बहुगुण भएको यो सिस्नु हाम्रो पहाडी क्षेत्रका गाउँघरका बारीका कान्लामा पाइने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरुमध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।

यस्ता अमूल्य जडीबुटीहरु हाम्रो घर–आँगनमा भए तापनि यसको प्रयोग कसरी र केमा आउँछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीबुटीलाई काटेर त्यसै नष्ट गर्ने र घरपालुवा चौपायको लागि खोले, सोत्तर, घाँसजस्ता कार्यमा प्रयोग गरिरहेका छौं । हाम्रो देश कृषिप्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनि पर्ने मानिस जो अस्पतालको पहुँचभन्दा धेरै टाढा रहेका छन् ।मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाइ अनिवार्य हुन्छ । यसको लागि सिस्नुभन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरीरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरीरका बाहिरी अंगको सफाइका लागि पानी, स्याम्पु र साबुनले नुहाएजस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानुपर्ने वैज्ञानिकहरुको भनाइ छ ।सिस्नुको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथरोग, डाइट ब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नुको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाया पनि हटाउँछ । महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, मूत्ररोग, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसै गरी पुरुषको शुक्रकीट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फूर्तिलो, छरितो र आकर्षक बनाउन, ढाड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसी सोला हान्नेजस्ता रोग निको पार्न सिस्नुको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर पनि खान सकिन्छ । यसमा हुने रौंजस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नाश भएर जान्छन् ।यसको सोही दुर्गुणको कारण पहिले–पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियमजस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५ प्रतिशतसम्म प्रोटिन हुन्छ । त्यसैले यो शाकाहारीहरूको लागि अति उत्तम भोजन हो ।सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मकरूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ । हामीकहाँ अथाह मात्रामा विभिन्न फाइदाजनक बहुमूल्य जडीबुटीको सम्भावना रहेको छ । तर त्यसको पहिचान हुन नसक्नु अहिलेको विडम्म्बनाको रुपमा लिनुपर्छ । सजिलै पाइने देशको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने सिस्नुलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकियो भने मात्रै पनि यसैबाट देशमा निकै धन कमाउन सकिन्छ ।

सिस्नु जहाँकहीँ पनि पाइन्छ तर त्यसलाई अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भइरहेको हामीले पाएका छौं । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्नरूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नुको प्रयोगबाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ ।गाउँघरमा पाइने सिस्नुलाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ । खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नुको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नु औषधि साबित भएपछि यसको माग विदेशमा निकै महँंगो दरमा भएको पाइन्छ । धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन् । सिस्नुलाई गुणस्तरीय औषधीय गुणलाई स्वदेशी बजार चिनाउन मात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्छ । यसको विदेशमा हुने मागबमोजिम निकासी गर्न सक्यौं भने नेपालले अहिले झेल्दै आएको व्यापार घाटाबाट बनेको घाउलाई मलहम लगाउन सकिन्छ ।

खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नुबाट बनेको धूलो राम्रो मूल्यमा बिक्री हुनुका साथै विदेशमा समेत निर्यात हुन थालेपछि सिस्नु उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् ।
– कौशिला गौतम, गोरखा 

प्रतिक्रिया दिनुहोस्