इयरफोनको धेरै प्रयोग खतरा



अनेक कारणले कान दुख्न सक्छ । कानको संक्रमणले, कानभित्रको चोटपटकले, चर्को ध्वनीले, यस्ता अनेक कारणले दुख्न सक्छ । अहिलेका तन्नेरी कानमा एयरफोन राखेर हिँड्छन्, यसले पनि कानमा असर गर्छ । कानमा थोरै पनि कानेगुजी जम्मा भएमा तपाईं त्यसलाई तुरुन्त निकाल्नुहुन्छ र आफ्नो कान सधैँ सफा राख्न चाहनुहुन्छ होला । फेरि पनि तपाईंको कान प्रायः दुखिरहन्छ यदि यस्तो हुन्छ भने आवश्यकताभन्दा धेरै सफाइ पनि हुन सक्छ ।

वास्तवमा कानेगुजी हाम्रो कानको सुरक्षाको लागि नै बनेको हुन्छ । कानमा बन्ने यो कानेगुजीले कानको लागि वाटरप्रुफ सिल्डको काम गर्छ । धेरै सफा गर्नाले कानको सुरक्षाको बनेको पत्र हट्छ । यसै कारण पानी वा अन्य संक्रामक ब्याक्टेरियाहरु कानमा पुग्छन् । यसैले कानको सफाइ त गर्नुहोस् तर धेरै छिटोछिटो नगर्नुहोस् र धेरै गहिरोसम्म पुगेर पनि सफाइ नगर्नुहोस् ।कानमा संक्रमणको समस्याले पनि कान दुख्न सक्छ । कानमा सजिलै तरल पदार्थ प्रवेश गर्न सक्छ । त्यसले कानलाई संक्रमित गरिदिन्छ । कानमा संक्रमणको कारण कानको सुन्ने क्षमता प्रभावित हुन्छ । यसैले जब कानमा पानी वा अन्य तरल पदार्थ पस्छ, कानलाई राम्रोसँग सफा गर्नुपर्छ ।यदि कानमा कुनै खालको चोट लाग्यो भने यसको कारण पनि सुन्ने क्षमता कम हुन्छ, साथै कान दुख्छ । भयानक घटना जस्तै– विष्फोट वा गाडी दुर्घटना भएर कानमा चोट लाग्न सक्छ । यस्तोमा कानमा अचानक तीव्र दुखाइ हुन्छ र कानको पर्दामा प्वाल पर्न पनि सक्छ । यदि दुर्घटनापछि तपाईंको कानमा तीव्र दुखाइ हुन्छ र कान सुन्न बन्द भएमा सम्झिनुहोस्, तपाईंको कानको मध्यभागलाई नोक्सान पुगेको छ ।

यस्तै इयरफोनको अधिक प्रयोग गर्नाले पनि कान दुख्ने समस्या देखिन्छ । यस्तै धेरै ठूलो आवाजमा इयरफोन लगाएर सुन्नाले पछि बहिरोपनाको समस्या पनि हुन्छ । आजभोलि युवायुवतीहरुले इयरफोनको प्रयोग गर्ने चलन धेरै बढेको छ । इयरफोनबाट निस्कने तीव्र ध्वनिले इयरड्रमलाई क्षति पु¥याएर त्यसलाई पातलो बनाइदिन्छ । इयरफोनबाट निस्कने तीव्र ध्वनिको कारण कानका कोषहरु अस्थायीरुपमा क्षतिग्रस्त हुन्छन् वा एक कानमा सुन्न बन्द हुन्छ । इयरफोनको प्रयोग अत्यधिक धेरै गर्नाले बहिरोपनको कारण पनि बन्न सक्छ ।
– रुपक मगर, अर्घाखाँची 

प्रतिक्रिया दिनुहोस्