भारतीय सहयोगमा बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माण शुरु

188
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारतको सहयोगमा काठमाडौंस्थित बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माण शुरु भएको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पा तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका छन् ।

भारत सरकारद्वारा ५.८ अर्ब आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापना परियोजनामध्ये बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माण तेस्रो परियोजनाको रुपमा रहेको छ । सम्पूर्ण २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ ।

शिलान्यास समारोहमा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेक नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त जय बहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।