विभिन्न पर्वहरुको श्रेष्ठ पर्व महाशिवरात्रि


हिन्दु धर्ममा महाशिवरात्रि पर्वको विशेष महत्व रहेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्रि हुन्छन्, तर महाशिवरात्रि र शिवरात्रिमा ठूलो अन्तर रहेको छ । सबैभन्दा ठूलो प्रश्न के हो भने, महाशिवरात्रि किन मनाइन्छ ? पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्रि पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातिको समयमा शिवको जन्ती पनि निकाल्ने परम्परा रहेको छ ।

शिवरात्रिमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान् शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् ।शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ । शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला–साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान् शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

विश्वमा भएका हिन्दु मन्दिरहरुमा नेपालको पशुपतिनाथ पनि एक हो । पशुपतिनाथमा प्रायजसो भारतीय पुजारी रहने गर्दछन् । जब महाशिवरात्रिको माहोल बन्छ, पशुपति मन्दिर परिसरमा भारतीय साधुहरुको ठूलो जमात हुन्छ । यस दिन भारतबाट आएका बाबाहरु नांगा बाबाको रुपमा सजिएका हुन्छन् ।महाशिवरात्रि पर्व भगवान् शिव र पार्वतीको विवाह भएको दिनलाई याद गरेर मनाउने गरिन्छ । यस दिन प्रायः अविवाहित महिलाले आफूले भगवान् शिवजस्तो पति पाऊँ भनी विभिन्न मन्दिरहरुमा गएर शिवको रुपमा सजिएका बाबाहरुको पूजा गर्ने गर्दछन् । आजको दिनमा पशुपतिनाथमा देशभरिबाट मात्र होइन, भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गर्दछन् ।आज पशुपतिनाथमा पुग्ने दर्शनार्थीहरुको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा व्याख्या गर्न सकिन्छ । नेपालभरि र भारतबाट समेत लाखौंको संख्यामा भक्तजन पशुपति पुग्ने गर्दछन् । भारतबाट आएका साधुहरु फर्कने बेलामा पशुपति विकास कोषले दक्षिणा अनि भेटीसहित औपचारिक बिदा दिने चलन छ । पछिल्लो समयमा आएर सानो पशुपति भनेर चिनिने मखन महादेव इन्द्रेश्वरको मन्दिरमा पनि ठूलै मेला लाग्न थालेको छ । यहाँ पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागबाट भगवान् शिवको दर्शन गर्न आउने गर्छन् ।

महाशिवरात्रिको अनेक कथा छन् । तीमध्ये दुई कथा जनमानसमा अधिक प्रचलित छ । पहिलो कथा हो सिकारी कथा । एकपटक भगवान् शिवले माता पार्वतीलाई सबैभन्दा सरल पूजा विधि सुनाए । कथाअनुसार चित्रभानु नाम गरेको एक सिकारी थिए । उनी पशुको सिकार गरेर परिवार पाल्थे । सिकारीमाथि साहुकारको ऋण थियो । समयमा ऋण तिर्न नसकेको कारण साहुले चित्रभानुलाई शिवालयमा बन्दी बनाए । संयोगले त्यस दिन शिवरात्रि थियो ।शिवमठमा भगवान् भोले शंकारको पूजाअर्चना, कीर्तन र नाचगान चलिरहेको थियो । शिव कथा वाचन गरिँदै थियो । बन्दी बनाएका सिकारी चित्रभानु पनि कथा श्रवण गर्दै थिए । साँझ साहु फेरि शिवमठमा आए । चित्रभानुलाई ऋण तिर्न भने । सिकारीले भाका मागे । भोलिपल्ट सिकारी पुनः सिकारमा निस्किए । जंगलमा उनले बेलको वृक्ष देखे । रातभरिको भोको चित्रभानु बेलवृक्षमा चढेर सिकार गर्ने उपाय गर्न थाले ।

बेलवृक्षमुनि शिवलिंग रहेको सिकारीले पत्तो पाएनन् । शिवलिंग बेलपत्रले ढाकिएको थियो । सिकारको लागि सहज बस्ने स्थान बनाउन उनले हाँगा छिमल्न थाले । सिकारीले काटेको बेलको हाँगाबिँगा शिवलिंगमाथि झ¥यो । दिनभरि भोको हुँदा सिकारीको उपवास पनि सिद्ध भयो । शिवलिंगमाथि बेलपत्र र हाँगाबिँगा खसेर पूजा पनि सम्पन्न भयो ।ठीक त्यही बेला तीनबटा मृग बेलवृक्षनजिकैबाट उफ्रिँदै गए । एउटा मृग गर्भिणी थियो । गर्भिणीले भनिन्, ‘अहिले मा¥यौ भने दुई ज्यान जान्छ । मलाई बच्चा जन्माउन देऊ । त्यसपछि म तिमीसमक्ष उपस्थित हुनेछु ।’ सिकारीले गर्भिणी मृगको प्राण बक्स दिए । दोस्रो मृगले भन्यो– ‘म मेरा प्रियलाई खोज्दै छु । उनीसँग एकपटक भेट्न दिनुस् । त्यसपछि म हाजिर हुन्छु अनि मार्नु ।’ तेस्रो मृगले भन्यो– ‘मेरो बच्चा मसँगै छ । यो बच्चालाई यसको पितासमक्ष छोडेर आउँछु अनि मलाई मार्नु ।’
तीनवटै मृगको पुकाराले सिकारीलाई दया लाग्यो । सिकारीले तीनवटै मृगलाई प्राणदान दियो । तर सिकारीले घरमा रहेका आफ्ना भोका बालबच्चा सम्झियो । जो पिताले सिकार ल्याउलान् र खाऊँला भनेर प्रतीक्षामा थिए । सिकारीले दह्रोे मनले निश्चय ग¥यो, अब भेटिने मृगलाई मारिछाड्छु । सिकारीले मृगलाई देख्यो र धनुषको प्रत्यञ्चामा तीर चढायो ।

निशानामा परेको मृगले भन्यो– ‘यदि तिमीले यसअघि भेटिएका बालबच्चासहितका मृगलाई मारेको हो भने मलाई पनि विलम्ब नगरी मार । ती मृगिणी मेरी पत्नी थिइन् । मेलै बालबच्चा र पत्नी वियोग खप्नुपर्दैन । तर उनीहरुलाई जीवनदान दिएको हो भने मलाई पनि केही क्षण बाँच्न देऊ । म उनीहरुलाई भेटेर आउँछु ।’ मृगको कुरा सुनेर सिकारीको हातबाट धनुष छुट्यो ।सिकारीले मृगलाई रुँदै रातभर भोको बसेको, बालबच्चा, आफू पनि भोकै रहेको र साहुले बन्दी बनाएकोे पीडा सुनाए । रातभरि शिव आराधना, कीर्तन र कथा सुनेको, दिनभर निराहार रहेको र शिवलिंगमाथि बेलपत्र चढाएको कारण सिकारीको कठोर हृदय निर्मल र दयालु भइसकेको थियो । सिकारीको मनमा दैवी शक्ति सिञ्चन भयो ।

केही बेरपछि जीवनदान पाएको मृगका सपरिवार सिकारीसमक्ष उपस्थित भए । सिकारीलाई सिकार गर्ने अवसर दिए । तर जंगली पशुको यस्तो इमानदारिता, सत्यनिष्ठा, सात्विकता र प्रेमभावना देखेर सिकारीलाई आत्मग्लानि भयो । सिकारीले मृग परिवारलाई फेरि जीवनदान दिए । जीव हिंसामा प्रवृत्त आफ्नो मनलाई परिवर्तन गरे । एकाएक हृदय कोमल बन्यो । सिकारी दयालु हुन पुगे । देवलोकबाट समस्त देवगणले त्यो घटना हेरिरहेका थिए । त्यो घटनापछि सिकारी र मृगका परिवारलाई मोक्ष प्राप्त भयो ।
– सुरज खड्का,