विप्लवको राजनीतिकअवतरण र अपेक्षा


केशव अधिकारी

दशबर्से जनयुद्ध हाँक्न कमरेड प्रचण्डसँगै अगाडि बढेका र पछि विद्रोह गरी अर्धभूमिगत अवस्थातिर रहँदै आएका नेत्रविक्रम चन्द उर्फ विप्लवले अन्ततः शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने सङ्केत देखाएका छन् । शान्तिपूर्ण वातावरणमा बाँच्न चाहने हामी आमनेपालीका लागि यो एउटा खुशीको विषय हो । उनी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने मात्र नभई ओली नेतृत्वको सरकारमा समेत सामेल हुने भन्ने कुरा बजारमा आएको छ ।विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा आइसके भने सरकारमा सामेल हुन खोज्नु सामान्य कुरो हो ।तर नेकपाको आधिकारिकतासम्बन्धी सर्वोच्चको पछिल्लो फैसलाले सिंगो राजनीतिलाई नै तरंगित बनाएको छ । यस अवस्थामा नेत्रविक्रम चन्दको आगामी हैसियत के हुने हो, यसै भन्न सकिने अवस्था छैन ।

नेत्रविक्रम चन्द विद्रोह गर्न छोडेर किन शान्तिपूर्ण राजनीतिमा अवतरण गरे होलान् त भन्ने बारेमा धेरैको मनमा धेरै प्रकारका शङ्का, उपशङ्काहरू जन्मन सक्छन् । धेरैले फरक–फरक कुराको आङ्कलन गरेका छन्– उनी विद्रोह गर्न गाह्रो भएर आए होलान्, विद्रोह सफल हुँदैन भन्ने पक्का गरेर आए होलान्, ठूलो पदको लोभमा परेर आए होलान्, पहिलेका सहयोद्धाहरुको भोगविलासपूर्ण रहनसहन देखेर आहारिस लागी आए होलान् अथवा अहिलेको राजनीतिक अन्यौलतालाई एउटा सही बाटोमा हिँडाउने हिम्मत गरेर आए होलान् ।यी सबै कुरा आममानिसका मनभित्रका शङ्का–उपशङ्काहरू मात्र हुन् । मूल कुरो के भने,अब उनी राजनीतिको कुन धारबाट आफ्नो बाटो तय गरी कसरी अगाडि बढ्छन्? त्यो कुरा आउने समयले बताउला । ओलीको सरकारमा उनी आफैं सामेल होलान् कि नहोलान्? यदि आफैं सामेल भए भने ओलीको निर्देशनअनुसार चल्न खोज्लान् कि आफ्नो निर्देशन लादेर जान खोज्लान्? उनी कतैबाट निर्देशित भएर शान्तिपूर्ण राजनीतिमा आए कि आफ्नै सोच–विचारले आए ? यी यावत् प्रश्नका उत्तर उनका अबका गतिविधिले देखाउँदै जानेछन् ।

अहिलेको मात्र होइन कि नेपाली जनताको वर्षौंदेखिको अपेक्षा भनेको देशलाई बलियो नेतृत्व प्रदान गर्दै एउटा स्पष्ट दृष्टिकोणका साथ देशको उन्नतिका हरेक पक्षलाई उन्नतशील बनाउँदै लैजाने हो । एउटा आफ्नै खालको राजनीतिक, सामाजिक परिवेश निर्माण गर्दै लैजान सक्ने नेतृत्वको अपेक्षा हो । स्वदेशमा रोजगारी नपाएर विदेश जान बाध्य भएका युवा जनशक्तिलाई एकै पटकमा लाखौँलाई नसके पनि क्रमशः आफ्नै देशमा विभिन्न क्षेत्रका रोजगारीका स्रोतहरू सिर्जना गरेर देश उन्नतिको मूल धारमा सामेल गराउन सक्ने खालको नेतृत्वको अपेक्षा रहेको छ ।मानसिक असन्तुष्टिका कारण विद्रोहमा लागेको एउटा जल्दोबल्दो युवक शान्तिपूर्ण राजनीतिको मूल धारमा अवतरण हुँदै गर्दा लाखौँ युवा जनशक्तिको मन खुशीले भरिएको छ । विगतको १० बर्से जनयुद्ध त्यागेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारसँग कमरेड प्रचण्डहरुलेशान्ति वार्ता अगाडि बढाउँदै गरेको समयमा यसै गरी लाखौं युवाको मन खुशीले भरिएको थियो । लाखौँले सम्पन्नशाली देश नेपालको सपना देखेका थिए । यसै खुशीयालीमा दीप बालेर खुशी प्रकट गरेका थिए । तर ती नायकहरू त त्यत्रो शीर्ष स्थानबाट स्खलित बन्दै गएर आ–आफ्ना सक्कली रुप देखाउन लागे । जसका कारण लाखौँ युवाले देखेका समुन्नत देशका सपना तुहिएर गए । तिनका क्षणभरका खुशीहरू निमोठिँदै गए । उनीहरूलाई आफ्नो शीर्ष स्थान वा दायित्व सम्झाउन कोही युवकले जुत्ता प्रहार गरेर सचेत गराउन खोजे, कसैले कालो झन्डा देखाएर गलत बाटो नहिँड्न सचेत गराए । तर तिनको सचेतना सुन्नुको साटो आफ्नै छिनाझम्टीमा गिद्धले सिनो लुछेजसरी देश लुछ्न थाले । कसैले टाउकोतिरबाट लुछे त कसैले शरीरतिरबाट लुछे । तिनका गिद्धे र निर्लज्ज लुछाइले बाहिर रमिते बसेका युवालाई लाज लागेर शिर झुकाउन बाध्य भए । १० बर्से जनयुद्धलाई विश्राम गराएर शान्ति वार्तामा आउँदै गर्दा उनीहरू तिनै युवाका नायक र गर्वका विषय बनेका थिए ।

आज तिनै नेताका हर्कतले लाज मान्नुपर्ने अवस्था आयो भने तिनको के काम रह्यो ?कमरेड विप्लव आमजनताले सोचेकामध्ये कुन अभीष्ट पूरा गर्ने हेतुले राजनीतिको शान्तिपूर्ण धारमा सामेल हुँदैछन् ?उनी आफैंभित्र प्रस्ट हुन जरुरी छ । यदि कमरेड प्रचण्डका झैँ पलङ–मोहदेखि आफ्नै छोराछोरीलाई माथिल्लो पदमा उचाल्ने दृष्टिकोण राखेर, विदेशीलाई कम्फर्टेबल हुने राजनीतिक गतिविधि गरिदिएर देशको ढुकुटी दोहन गर्ने विचारले विप्लव आएका छन् भने ओलीले शान्तिपूर्ण राजनीतिसम्म मात्र ल्याई सत्ताको साझेदार बनाउने झन्झट नगर्नु नै उपयुक्त हुनेछ । उनको विद्रोहको यो कालखण्डमा विद्रोही सेनाको सङ्ख्या कति पु¥याएका थिए ? तिनको समायोजनको काम कसरी हुने वा गरिने हो ? भन्ने बारेमा पहिले नै स्पष्ट हुन जरुरी छ ।

पहिलेका माओवादीहरुले सबैभन्दा ठूलो गल्ती सेना समायोजनको बखतमा नै गरिसकेका थिए । ज्यानको बाजी थापेर लडेका सेनाका आँसुले कमरेडहरूलाई सरापेको छ । यदि विप्लवले पनि हतार गरेर वा विवेक शून्य भएर सेनालाई कदर गर्नुको साटो रुवाउने र आफूले सत्ताको तर मार्ने काममा लागेको खण्डमा भोलिको दिन प्रचण्डको दिनभन्दा कुनै अर्थमा पनि फरक हुने छैन । त्यतिमात्र होइन, समग्र नेपालको उन्नति नै आधा शताब्दी पछाडि धकेलिने छ । पूर्वमाओवादीहरु के कारणले जनताका मित्र बन्न सकेनन् भन्ने कुराको हेक्का हामी जनतालाई भन्दा धेरै गुना बढी विप्लवलाई थाहा छ । त्यति धेरै कुरा थाहा भएर पनि, समस्याको चुरोमा पुगेरै पनि समाधानका उपाय खोजिनुको साटो मस्ती जीवनतिर रमाइलो गर्न पुगिन्छ भने त्यो सबैभन्दा खराब हर्कत बन्न पुग्छ ।कमरेड विप्लवले शान्तिपूर्ण राजनीतिमा अवतरण गरी सरकारमा सामेल भएर वर्तमान कालखण्डको जस्तै ओली पक्ष र प्रचण्ड पक्षका बीचमा जसरी जुँगाको लडाइँ हुँदै छ, पैसा दिएर वा मासु–भात खुवाएर किनेका मान्छे कसका बढी भए भनेर देखाउने प्रतिस्पर्धा चल्न थाल्यो भने त्योभन्दा अधिक दूषित राजनीति कतै खोज्न जानै पर्दैन । भोलिका दिनमा विप्लव पनि त्यस्तै साँघुरो विचारले शान्तिपूर्ण राजनीतिको मूल धारमा मोडिँदै छन् भने उनी पनि क्रमशः स्खलित बन्दै गएर उनीहरूजस्तै पङ्गु नेता बन्न कति बेर लाग्ने छैन ।राजनीति भनेको ख्याल–ख्यालको विषय होइन । यो त आकाशमा उड्ने विमानलाई चालकले जति होसियार भएर उडाउनुपर्ने हो त्योभन्दा पनि अधिक होसियार, सुझबुझ, सल्लाह, परामर्श, आत्मसंयम, निर्लोभिता, इमानदारिता शास्वत सत्यलाई स्वीकार्नु आदिका आधारमा चलेको हुन्छ । यी धेरै आधारहरुमध्ये कुनै एउटा मात्र आधार भत्किएपछि वा गडबड भएपछि त्यसको नकारात्मक असर राजनीतिका, समाजका हरेक तह र तप्कामा असर गर्न पुग्छ ।

हामीले ईश्वर मानेका आदर्श पुरुषहरु राम, कृष्ण आदिजस्ता आफैं सामथ्र्यशाली भएर पनि गुरुको आज्ञा अक्षरशः किन पालना गर्थे ?उनीहरुमा अहङ्कारको मात्रा नगन्य थियो । अहिलेका हामीले कृष्णको जस्तो दैवी सामथ्र्य हासिल गर्ने हो भने त्यो मान्छे राम, कृष्ण आदिजस्तै शालीन बन्न सक्ला त ? अहँ सक्दैन, किनभने ऊभित्रका काम, क्रोध, लोभ, मोहजस्ता तत्वले नै उसलाई अहङ्कारी बनाइसकेका छन् । अहिलेका हाम्रा नेताहरुकै उदाहरण दिने हो भने पनि पर्याप्त हुन्छ । पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने शासनकालमा केही साकारात्मक परिवर्तनहरु भएका थिए । त्यसपछि गएर कमरेड माधव नेपाल, झलनाथ खनाल हुँदै कमरेड प्रचण्ड, कमरेड बाबुराम पनि प्रधानमन्त्री बनेकै थिए । तर कमजोर पक्ष के भयो भने, उनीहरु प्रम हुनु भनेको समग्र देशको भार बोकेर तिनलाई उन्नतिको शिखरमा पु¥याएर छोड्नु हो । वास्तवमा उनीहरुले त्यो काम पटक्कै गर्न सकेको देखिएन । उनीहरुको ध्यान आफन्ततिर, देशको ढुकुटीको विनाकामको दोहनतिर लागेको देखियो । कम्युनिस्टको यो हालत हुँदै थियो भने प्रतिपक्ष नेपाली काङ्ग्रेसले त आफ्नो सत्ताको रक्षा गर्नको लागि अफताव आलमजस्तालाई संरक्षण दिएर त्यस्तै मान्छेहरुकोहाइदुहाइका भरमा शासन चलाउने रहेछ । यस्तो शासनबाट जनताले के सकारात्मक अपेक्षा गर्न सकिएला र ?अहिलेको परिवेशमा नेपालको शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दै गरेका विप्लवलाई शान्तिको बाटो हिँड्न थाल्ने कामको शुरुवात गरेकामा हृदयदेखि नै धन्यवाद नदिइरहन सकिँदैन । हार्दिक धन्यवादसँगै यी सम्झाइएका विषयमा गम्भीर अध्ययन र निष्कर्षबेगर शान्तिपूर्ण राजनीतिमा आउनुको तुक छैन । अझ ओली नेतृत्वको सरकारमा गएर भ्रष्टाचारका अखडा कुर्न थाल्ने हो भने सत्तामा छिर्दै नछिरे नै जाति हुन्छ ।