प्रतिनिधिसभा पुनःस्थापनापछि आज संसद् बैठक बस्दै

प्रचण्ड–नेपाल सत्ता पक्षकै कुर्सीमा बस्ने ६३ वटा विधेयक विचाराधीन 


मधुसूदन रायमाझी, काठमाडौं ।

दुई महिना लामो कोमापछि आज आइतबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधिसभाको बैठक डाक्नुभएको हो ।गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

संसद् विघटन गरेको दुई महिना मात्र भएको भए तापनि संसद्को बैठक नबसेको नौ महिना भइसकेको छ । गत असार १८ गते सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श नै नगरी संसद्को बैठक स्थगित गरेको थियो । त्यसै गरी संसद्को बैठक नहुँदा सरकारले जारी गरेको अध्यादेशसमेत आजको बैठकमा पेस हुने भएको छ । सरकारले एसिडसम्बन्धी अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितको अध्यादेशहरू जारी गरेको थियो ।नेकपा दुई समूहमा विभाजित भए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो नलगाउँदा त्यसको असर संसद् सचिवालयमा पनि परेको छ । त्यस्तै संसद्मा नेकपाका तर्फबाट बोल्ने नेताहरूको नामावली टुंगो लगाउन सभामुखलाई सकस परेको छ । शुक्रबार मात्र प्रचण्ड–नेपाल समूहको दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएको पत्र संसद् सचिवाललाई बुझाएको थियो ।

सभामुख सापकोटाले आवश्यकता परे मात्र कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर बैठकको कार्यसूची तय गर्ने तयारी गर्नुभएको छ । १७ सदस्यीय कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले आवश्यकताको आधारमा सदस्यहरूलाई बोलाएर परामर्श लिन सक्ने प्रावधान छ । कार्यव्यवस्था परामर्श समितिमा उपसभामुख र कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान रहेको छ । तर १३ महिनादेखि उपसभामुखको पद खाली छ ।त्यस्तै संसद् बैठकका लागि कार्यसूची तय गर्न बस्ने कार्य व्यवस्था परामर्श समितिमा प्रमुख सचेतकका हैसियतमा कसलाई आमन्त्रण गर्ने भन्ने विषय थप जटिल बनेको छ । पार्टीभित्र विवाद भएपछि मुख्य सचेतकबाट देव गुरुङलाई हटाउँदै प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ ।

हाल संसद्मा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीको ३२ र अन्य ४ जना सांसद रहेका छन् । नेकपाका सानु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुई–दुई सांसद निलम्बित छन् ।प्रचण्ड–नेपाल समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । संसद् बैठक शुरु भएसँगै नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढाउने नीतिमा प्रचण्ड–नेपाल समूहले गृहकार्य अगाडि बढाएको छ । प्रचण्ड–नेपाल समूहले कांग्रेस र जसपासँग सहमति जुटाएर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीसमेत थालेको छ ।

यस्तो छ संसद्को कार्यसूची
आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । आजबाट शुरु हुने संंसद्को सातौं अधिवशेनमा राष्ट्रपतिबाट प्राप्त अधिवशेनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुका साथै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा सभामुख अग्नि सापकोटाले सुनाउने कार्यक्रम रहेको छ ।सभामुखले प्रतिनिधिसभा निमायमाली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोयन गर्ने कार्यसूची रहेको छ ।आजको बैठकमा सरकारले संसद् सञ्चालन नभएको अवस्थामा जारी गरेको अध्यादेश २०७७, पनि पेस हुनेछ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश २०७७, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासयनिक पदार्थसम्बन्धी अध्यादेश २०७७, औषधी ९तेस्रो० संशोधन अध्यादेश, फौजदारी कसुर तथा फैजदारी कार्यविधिसम्बन्धी अध्यादेश, यौन हिंसाविरुद्धसम्बन्धी अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश संसद्मा पेस हुने संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो ।बैठकमा बैठक सञ्चालन नहुँदाको अवधिमा निधन भएका पूर्वसांसद र संविधानसभाका सदस्यहरुको शोकसभासमेत राखिएको छ । प्रतिनिधिसभाको सांसद सानु शिवा, प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीलगायत १४ जनाको निधन भएकोप्रति शोक प्रस्ताव पारित गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।