अन्धोपन मानिसको आँखाले आफ्नो काम गर्न नसकेको अवस्था हो । यदि मानिस आँखाले आफ्ना अगाडिका कुनै पनि वस्तु देख्न असमर्थ हुन्छ भने त्यस अवस्थालाई अन्धोपन भनिन्छ । बोलिचालीको भाषामा खस्रे रोग भनेर चिनिने ट्रकोमा एक सरुवा रोग हो । मानिसलाई दृष्टिविहीन गराउन सक्ने आँखाको विभिन्न रोगहरूमध्ये यो एक प्रमुख सरुवा रोग हो ।
आँखाको माथिल्लो ढकनीको भित्र क्लेमेडिया ट्रकोमाटिस भन्ने ब्याक्टेरियाको संक्रमण भएमा यो रोग लाग्छ । सरसफाइको कमी तथा झिँगाका कारण पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । ट्रकोमा रोगको जोखिममा विशेष गरी एकदेखि नौ वर्षसम्मका बालबालिका रहने गरेका छन् । उनीहरूलाई ट्रकोमा भएमा यो रोग बच्चाबाट आमाबाबु, दिदीबहिनी लगायतका घरपरिवार तथा समाजमा सर्ने गर्छ ।नेपालबाट ट्रकोमा रोग निवारण भएसँगै नेपाल दक्षिण–पूर्वी एसियामा ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको देशको रुपमा सूचीकृत भएको छ । कुनै पनि देशमा ट्रकोमा रोग निवारण हुन ती देशका एक वर्षदेखि नौ वर्षका बालबालिकामा ट्रकोमा रोगको जोखिम पाँच प्रतिशतभन्दा कम रहेको हुनुपर्छ ।सन् १९८१ मा गएरिको एक सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत मानिसमा अन्धोपना रहेको पाइएमा उक्त अन्धोपनमध्ये पनि २–४ प्रतिशत अन्धोपना ट्रकोमाको कारण भएको पाइएको थियो । त्यति बेलामा नेपालमा मोतियाविन्दु पछि अन्धोपनाको दोस्रो मुख्य कारणमा ट्रकोमा रहेको पाइएपछि सन् २०१७ सम्ममा नेपालबाट ट्रकोमा रोग उन्मूलन गर्ने उद्देश्यले नेपाल नेत्र ज्योति संघले सन् २००२ मा ट्रकोमा रोग निवारणका लागि ट्रकोमा रोगबाट प्रभावित जिल्लाहरूमा ‘राष्ट्रिय ट्रकोमा कार्यक्रम’ सञ्चालन गरेको थियो ।
यसअन्तगर्त संघले नेपालका ७७ वटै जिल्लाहरूमा ट्रकोमा रोगको प्रकोपसम्बन्धी सर्वेक्षण सम्पन्न गर्नुका साथै ट्रकोमा रोगबाट सर्वाधिक प्रभावित २० जिल्लाहरूको पहिचानसमेत गरेको थियो । ती जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, रोल्पा, वैतडी, दैलेख, रुकुम, दाङ, सुर्खेत, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, बारा, पर्सा, रौतहट, सलार्ही रसुवा रहेका छन् ।ती जिल्लाहरूमा संघले विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको सेफ रणनीतिअनुरुप आँखाको शल्यक्रिया गर्ने, ट्रकोमा प्रभावित जिल्लाहरूमा औषधि वितरण गर्ने, आँखा, अनुहार र हातको सफाइ गर्ने तथा वातारण सुधार गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । ।त्यसैको आधारमा संघले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिएका जिल्लाहरूमा ट्रकोमा रोगको प्रकोपका स्थितिको मूल्यांकन गर्न आवश्यक निगरानी सर्वेक्षण गरेको थियो । उक्त निगरानी सर्वेक्षणबाट आएको नतिजाकै आधारमा संघले निवारणको प्रक्रिया अघि बढाएको थियो ।सो क्रममा नेपालका विभिन्न अस्पतालहरूमार्फत ४५ देखि ५० हजारको हाराहारीमा ट्रकोमा रोगको पहिचान भई शल्यक्रिया सम्पन्न भएको थियो । जसमध्य नेपाली ३० हजार तथा विदेशी २० हजार रहेको पाइएको थियो ।जलविन्दुको कुरा गरौं, आँखाको पानीको दबाब बढेर आँखाको नसामा क्षति पुगी बिस्तारै आँखाको दृष्टि कम हुँदै जान्छ । सामान्यतया आँखाको अगाडिको भागमा सञ्चारित हुने पानी बढी उत्पन्न हुनु वा कम निकास हुनुको कारण आँखाको दबाब बढ्छ, जसले गर्दा आँखाको नसामा क्षति पुग्छ । जलविन्दुले दृष्टि एकचोटि कमजोर भएपछि फेरि फर्काउन सकिँदैन ।
विनाकुनै संकेत आँखाको दृष्टि चोर्ने जलविन्दुलाई ‘साइलेन्ट थिभ’ पनि भनिन्छ ।पूर्वलक्षण नदेखिने जलविन्दुको समस्या जन्मजात शिशुदेखि वृद्ध उमेरसम्म जोसुकैलाई हुन सक्छ । आँखामा चोटपटक लागेको, परिवारको सदस्यमा जलविन्दु भएको, ४० वर्ष उमेर नाघेको, आँखाको बनाबट, रक्तप्रवाह सम्बन्धी शारीरिक बिमारीहरु (मधुमेह, उच्च रक्तचाप, माइग्रेन आदि), लामो समयसम्म आँखामा स्टेरोइड समूहका औषधिको प्रयोग गर्ने समूहमा जलविन्दुको खतरा बढी हुन्छ ।सामान्यतः जलविन्दुको शुरुवाती लक्षणहरु हुँदैन । संक्रमण फैलिँदै गएपछि किनारी दृष्टिमा कमी हुँदै जान्छ । बिस्तारै बीच भागबाट सीधा अगाडि मात्रै देखिने हुँदै दृष्टि गुम्छ । जलविन्दुले विनालक्षण स्थायीरुपमै अन्धोपन गराउँछ । अन्धोपन निवारणको क्षेत्रमा विश्वभर चुनौती थपेको जलविन्दुलाई ‘दृष्टि चोर’ भनेर नामांकन गरिएको छ ।जलविन्दुले गर्दा क्षति भैसकेको दृष्टि फर्काउन सकिँदैन । तर समयमै उपचार सम्भव भए जलविन्दुबाट हुन सक्ने थप क्षति रोक्न सकिने आँखा रोग विशेषज्ञहरु बताउँछन् । आँखाको दबाब नियन्त्रणमा राखेर आँखाको नसामा थप क्षति रोक्नु जलविन्दुको प्रमुख उपचार हो । यसको उपचार तीन तरिकाबाट गरिन्छ । पहिलो औषधिमार्फत, दोस्रो लेजर उपचार र तेस्रो शल्यक्रिया । त्यसैले समयमै सचेत हुनु जरुरी छ ।
– कोमल थापा, कैलाली ।
प्रतिक्रिया