पूर्वसांसद उप्रेतीको निधन


काठमाडौं, (नेस) ।

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ । २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहनुभएका स्वर्गीय उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल जीवन भोग्नुभएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएका उप्रेतीले चिकित्सकका रुपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेर, पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षको अवधिमा लाखौंको उपचार गर्नुभएको थियो ।

उप्रेतीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– ‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ ।’ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।