भागरथी हत्या प्रकरण दिनेशको डीएनए परीक्षणका लागि पठाइयो


बैतडी, (नेस) ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डीएनए परीक्षणका लागि पठाइएको छ । डीएनए परीक्षणका लागि रगतलगायतका आवश्यक पर्ने अन्य सबै कुरा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो ।

डीएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन् ।गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । त्यसपछि घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।यसैबीच भागरथीको हत्यामा संलग्न दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ । अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप ५ दिनका लागि अनुमति पाएको हो ।

यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो । शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ । उहाँले भन्नुभयो– ‘आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौं, अनुसन्धानमै छौं, अहिले नै सबै कुरा भन्न मिल्दैन ।’दिनेश नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ । सोहीअनुसार अनुसन्धान कार्य जारी रहेको हो ।दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफूले नै भारगथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । जिल्ला अस्पतालमा गरिएको भागरथीको शव परीक्षण रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको उल्लेख छ ।