माता पार्वतीको जन्मथलो पाङ अब ‘पार्वतीधाम’


दुर्गाप्रसाद शर्मा, पर्वत ।

जनकपुत्री सीताको जन्मथलो जनकपुर जस्तै माता पार्वतीको जन्मथलोका रुपमा रहेको पर्वतको पाङलाई ‘पार्वतीधाम’का रुपमा विकास गरिने भएको छ ।पर्वतको कुस्मा नगरपालिका–१ पाङमा हिमालयकी पुत्री पार्वती जन्मेको विश्वास गरिएका कारण पार्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती गुफा र पार्वती खेल्ने पार्वतीचौरलगायतका क्षेत्र समावेश गरी ‘पार्वतीधाम’का रुपमा विकास गर्न लागिएको हो ।

पार्वती ध्यानमा बस्ने गरेको पार्वती गुफा, स्नान गर्ने गरेको सहस्र धारा, खेल्ने गरेको मैदानलगायतका ठाउँ पाङमै रहेकाले यसको प्रचारप्रसार गर्न सभा आयोजना गरिएको आयोजकले बताएका छन् । पार्वती पाङमै जन्मिएकी हुन् भन्ने पुराणमा समेत उल्लेख भएका कारण यसको विकास गर्न अभियान थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो । ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मस्थल जनकपुर जस्तै पार्वतीको जन्मस्थल पर्वतलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन आवश्यक भएकाले अभियान शुरु गरिएको हो ।’

अध्यक्ष सुवेदीले भन्नुभयो– ‘सबै धार्मिक, ऐतिहासिक र भौतिक तथ्यहरु राखेर यसको प्रचारप्रसारमा जुटेका छौं ।’माता पार्वती जन्मिएको विश्वास गरिएको पार्वतको पाङलाई पार्वती धामको रुपमा विकास गर्न संस्कृतिविद्सहितको उपस्थितिमा शनिबार बृहत् छलफल कार्यक्रम आयोजना गरिएको छ । माता पार्वतीको कथा स्वस्थानी व्रतकथासँग पनि जोडिएका कारण स्वास्थानी पूर्णिमाको दिन पारेर अन्तरक्रिया भएको थियो ।अन्तरक्रिया सभामा संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, पाङका बारेमा खोज अनुसन्धानकर्ता डा. षडानन्द पौडेलको उपस्थिति थियो । पाङमा फेला परेका विभिन्न पुरातात्विक वस्तुहरुले पार्वती पाङमै जन्मिएको भन्ने कुरा पुष्टि गर्नमा सघाउने उपकुलपति डा. गुरुङले बताउनुभयो । उहाँले पाङमा नै माटोको माला र ढुंगाको सियो फेला परेको बताउनुभयो । ‘यसको रेकर्ड पुरातत्व विभागमा छैन ।

संग्रहालय बनाएर ती सामग्री राखिनुपर्छ,’ उहाँले भन्नुभयो– ‘गुफामा भेटिएका विभिन्न सामग्रीबारे पुरातत्व विभागमा जानकारी गराएर अनुसन्धान गर्न लगाएमा यस ठाउँको प्रवद्र्धन हुनेछ ।’गुफामा भेटिएको प्राचीन मूर्ति प्रस्टरुपमा महिलाको भएको र त्यो पार्वतीकै हो भन्ने विश्वास गर्न सकिने आधार पनि रहेको विश्वास धेरैको छ । पाङलाई पार्वती धामका रुपमा विकास गर्न सकेमा नेपालबाहिरका मान्छेसमेत सहस्र धारा र पार्वती गुफामा साधना गर्न आउने विश्वास पनि लिइएको छ ।

मुक्तिनाथ प्रवेश गर्ने स्थलसमेत भएका कारण पाङ, पार्वतीगुफा तथा गुप्तेश्वरको धार्मिक महत्वका बारेमा बुझाउनका लागि दुई वर्षअघि कुस्मामा महायज्ञ लगाइएको थियो । उक्त महायज्ञमा संकलन भएको रकम र संघ तथा प्रदेश सरकारको सहयोगमा विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति स्थापना गर्ने काम पनि अघि बढेको छ । गुप्तेश्वर पाङलाई जोडेर धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास भइरहेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय अभियानका संयोजक पृथ्वीनारायण शर्माले बताउनुभयो ।