पाँचखाल नगरपालिकाको आठौँ नगर सभा सम्पन्न : स्रोत व्यवस्थापन हुन नसक्दा ऋणात्मक बजेट

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

पाँचखाल नगरपालिकाको आठौ नगर सभा सम्पन्न भएको छ । सभाले विभिन्न विधेयक तथा नीति प्रस्तुत गरी छलफल सहित पास गरेको छ । नगर प्रमुख एवं नगर सभा अध्यक्ष महेश खरेलले आर्थिक विधेयक २०७७ प्रथम शंशोधन, विनियोजन विधेयक शंशोधन, कृषि नीति, मदिरा रोकथाम तथा नियन्त्रण ऐन, संघ/संस्था दर्ता ऐन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएका सबै विधेयक तथा नीति र ऐन सर्वसम्वत पास भएका छन् ।

उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाले चालु आर्थिक वर्षको समग्र प्रगति प्रस्तुत गर्नु भएको थियो । उपप्रमुख दनुवारले शिक्षा तथा खेलकुद शाखाले सम्पादन गरेका कृयाकलापहरुमा संचालन गर्दाका राम्रा र सुधार गर्नु पर्ने पक्षहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा, योजना तथा कार्यक्रम शाखा, रोजगार शाखा, प्राविधिक शाखा, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा, पशुपँक्षी शाखाले गरेका गतविधि र प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।

लेखा शाखाले चालु वर्षको कुल बजेट चालु तर्फ ४१ करोड ७८ लाख ७५ हजार र पुँजीगत तर्फ ५५ करोड ४५ लाख ३५ हजार रुपैया मध्ये चालु तर्फ १५ करोड २५ लाख ५४ हजार र पुँजीगत तर्फ १० करोड १६ लाख २९ हजार रुपैया खर्च भएको जानकारी गराउनु भयो । नगरपालिकाले ३२ करोड रुपैया घाटाको बजेट बनाएकाले श्रोत अनुमान गरिए भन्दा घटेकाले कार्यक्रम भुक्तानीमा समस्या भएको र योजना सम्झौताको काम हुन नसकेको बताउनु भयो ।

नगर प्रमुख महेश खरेलले नगरपालिकाले बालुवा र क्रसर खानी संचालनको अनुमती दिँदा नगरपालिकालाई झण्डै १० करोड आम्दानी हुने, ईटेण्डरबाट घटाघटमा १२ करोड रकम बच्ने र आन्तरिक श्रोतबाट केहि रकम जम्मा हुने अनुमान गरी ३२ करोडको घाटा बजेट बनाउँदा समस्या भएको बताउनु भयो । गत वर्ष १७ करोड घाटा बजेट बनाउँदा त्यसको श्रोत ब्यवस्थापन भएकाले त्यहिबाट हौसिएर घाटा बजेट बनाएको नगर प्रमुख खरेलले बताउनु भयो ।

वडा अध्यक्ष हरि खतिवडाले घाटा बजेटका कारण वडामा छनौट भएका योजनाहरु सम्झौता हुन नसकेको बताउनु भयो । वडा अध्यक्ष खतिवडाले नगरपालिकाले नगर समिति बनाउन नसक्दा शिक्षाका तमाम समस्याहरु समाधान र ब्यवस्थापन गर्न नसकेको, ऐनहरु छलफलका क्रममा समय अपुग भएको, घुम्ती ऋण प्रवाहमा समस्या भएको, अन्योल नै अन्योलका बीच घाटा बजेटले समस्या पारेको बताउनु भयो ।

वडा अध्यक्ष बालकृष्ण सापकोटाले कृषि शहर पाँचखाल नगरको नारा नारामा मात्रै सिमित भएकाले त्यसमा बजेट विनियोजन गरी कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । वडा अध्यक्ष सञ्जय लामाले समृद्ध पाँचखाल निर्माणका लागि सबै पक्ष लाग्नु पर्ने बताउनु भयो ।
नगर सभा समापनका क्रममा नगर प्रमुख खरेलले वडा अध्यक्षहरुले उठानु भएका विषयलाई नगरले सम्बोधन गर्ने, पाँचखाल नगरको विकासका लागि तिनै तहका सरकार र संघ र प्रदेशका सांसदहरुसँगको समन्वय गर्ने, चालु वर्षमा रकम अपुग भएका योजनाहरु आगामी वर्ष निरन्तर रहने बताउनु भएको थियो ।