बुद्ध नेपाली, सिन्धुली ।
२०७४ साल बैशाख ३१ गते भएको स्थानिय तहको निर्वाचनबाट खड्ग बहादुर खत्री कमलामाई नगरपालिकाको मेयरको पदमा निर्वाचित हुनुभयो । निर्वाचित भएर नगरपालिकाको मेयरको पदभार ग्रहण गरेपछि २०७४ जेठ १५ गतेका दिन एउटा खुत्रुके किनेर आफ्नो कार्यकक्षमा राख्नुभयो । त्यस दिन देखि नगरपालिका बाहेक अन्य निकायहरुको कार्यक्रम, बैठक लगाएतमा सहभागी हुदाँ पाएको भत्ता दैनिक त्यो खुत्रुकेमा खुत्रुक–खुत्रुक हाल्न थाल्नुभयो ।
व्यक्तिगत रुपमा पाएको भत्ता जम्मा गर्दै पछि धेरै पारेर आफ्नो व्यतिगत काममा लगानी गरौंला भन्ने उनको मनमा थिएन । उहाँले त्यो खुत्रुकेमा आफ्नो भत्ता जम्मा गर्नुको एउटै कारण थियो जम्मा भएको रकम सामाजिक कार्यमा लगानी गरौं भन्ने । सामाजिक कार्य गर्नकै लागि उनले ७४ जेठ १५ गते देखि ७७ फाल्गुण १४ गते सम्म करिव ३ बर्ष ९ महिना सम्म उनले पाएको भत्ता खुत्रुकेमा हालि रहनुभयोे । ३ बर्ष ९ महिनाको अवधीमा त्यो खुत्रुके खोल्दा उनले पाएको भत्ताको रकम ४ लाख ९७ हजार ७ सय २० रुपैयाँ जम्मा भएछ ।
शनिवार फाल्गुण १५ गते उनले आफ्नो जन्म दिनको अवसर पारेर त्यो जम्मा भएको रकमले सामाजिक काम गर्ने उदेश्य सहित आफ्नो र श्रीमतीको नाममा ट्रष्टको स्थापना गर्नुभएको छ । उहाँले आफ्नो ५५ औं जन्म दिनको अवसरमा खड्ग शान्ता नव प्रवर्तन नामक ट्रष्टको स्थापना गरेर शिक्षा, स्वास्थ्य र वातावरणका पक्षमा काम गर्ने घोषणा गर्नुभएको हो ।
साथै समाजमा राम्रा काम गर्ने व्यक्तिरुलाई पनि ट्रष्टले सम्मान गर्ने उहाँले बताउनुभयो । ट्रष्टको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका जिल्ला सचिव सुर्य पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा अम्बिका खत्री रहुनभएको छ ।
उहाँले उक्त ट्रष्टमा सहयोग गर्न चाहानेहरुले दिएको रकम मात्रै जम्मा गरिने बताउनुभयो । बाँकी रहेको समयमा पनि आफुले पाएको भत्ताको रकम जम्मा गरेर सोही ट्रष्टमा जम्मा गर्ने उहाँको भनाई छ ।
तस्बिर : बुद्ध नेपाली
प्रतिक्रिया