माइग्रेनको कारण र उपचारबारे जानकारी



माइग्रेन अन्य समस्याले हुने रोग हो, जसले गर्दा विशेषगरी टाउकोको भाग धेरै दुख्छ । माइग्रेनले निश्चित समयमा कसैलाई एक महिना, कसैलाई ढेड महिना र १५–२० दिनमा पनि टाउको दुख्ने हुन्छ ।माइग्रेनको दुखाइ ३–४ दिनसम्म पनि रहन सक्छ । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ ।

माइग्रेनको पीडा बिरामीले सहन नसक्नेसम्मको पनि हुन्छ । यसको दुखाइ निकै गाह्रो र कठिन हुन्छ । टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, वाकवाक लाग्ने र बान्ता हुनेसम्म हुन्छ । यस्तै आलस्य हुने, काम गर्न मन नलाग्ने, दिमागले अन्य कुरा सोच्न नसक्ने अवस्थासम्म पनि बिरामीलाई पु¥याउन सक्छ ।

माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हुँदैन । केही दिन बिराएर टाउको दुख्न थाल्छ । यसलाई अर्को भाषामा ‘इपिसोडिक हेड्याक’ भनिन्छ । कसैलाई हप्तामा एकपटक दुख्न सक्छ, कसैलाई दुईपटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा । जति बेला टाउको दुख्छ, त्यति बेला असह्य पीडा हुन्छ । कतिपय ठाउँमा आधा टाउको दुख्ने रोग भनेर पनि चिनिन्छ । कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ । केहीलाई भने पूरै टाउको दुख्ने समस्या देखा पर्न सक्छ ।कडा टाउको दुख्दा बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई बान्तासमेत हुने र कसैलाई बान्ता भएपछि आराम भएजस्तो हुने लक्षण देखिन्छ । चम्किलो प्रकाश र उज्यालो हेर्न मन नहुने, भीडभाड मन नपराउने र वरपरका मानिससँग झर्को लाग्ने लक्षण देखा पर्न सक्छ । बिरामीलाई आवाजको एलर्जी हुन्छ, जसलाई ‘फोनोफोबिया’ भनिन्छ । माइग्रेन दुई प्रकारको हुन्छ– विथ औरा र विद्आउट औरा ।

२०–३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत मिल्छ, त्यो बेला यसको संकेत शरीरले पाउँछ । दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने लक्षणदेखियो भने यसलाई औरा भनिन्छ । कतिपयलाई कुनै पूवैसंकेतविना पनि माइग्रेन हुन्छ ।कतिपय बिरामीलाई कुनै गन्धका कारणले टाउको दुख्न थाल्छ । सडाइएको वा अमिल्याएको परिकार खाँदा बिरामीको टाउको दुख्न थाल्छ । उज्याले हेर्न मन नलाग्ने भएकाले कतिपय बिरामी बत्ती निभाएर एकान्तमा वा अँध्यारोमा बस्न रुचाउँछन् । बिरामीलाई टाउको दुख्दा २ घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ । यो माइग्रेनको खास लक्षण हो । कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधिले समेत काम गर्दैन ।

माइग्रेन हुने कारण:
माइग्रेन यही कारणले मात्र हुन्छ भन्ने छैन । कसैलाई वंशाणुगत पनि हुन्छ, कसैलाई नसाजन्य समस्याको कारणले पनि हुन्छ । प्रत्येक व्यक्तिमा फरक फरक कारणहरू हुन्छन् । खानापान र जीवनयापन, दैनिक जीवनमा आउने विभिन्न समस्याका कारणले पनि माइग्रेन हुन सक्छ । हामीले खाने चकलेट, कफी, बट्टामा राखेको अचार, चिसो, पेयपदार्थ, धूलो, घाम, गन्धले पनि माइग्रेनलाई बढाउन सक्छ । माइग्रेनमा निश्चित साइकलमा दुख्छ तर माइग्रेन बढाउने खानपान नखाँदासम्म माइग्रेन बढ्दैन ।

पुरुषभन्दा महिलामा बढी:
माइग्रेनको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । विभिन्न शोध–अनुसन्धानअनुसार करिब ३ महिलालाई माइग्रेन हुँदा एक पुरुषमा मात्र यो रोग देखा पर्छ । किनभने महिलामा हर्मोनल परिवर्तन ज्यादा हुन्छ । महिनावारीको अघि–पछि टाउको दुख्ने समस्या आइलाग्छ । पिल्सलगायत अस्थायी परिवार नियोजनका औषधि सेवन गर्ने वा रसायनयुक्त साधन प्रयोग गर्नेहरूलाई माइग्रेनको सम्भावना बढी हुन्छ ।
भोको पेट बसिरहने, व्रत बस्ने र धेरै समय अनिदो रहने मानिसलाई पनि माइग्रेनको जोखिम हुन्छ । त्यसैले हामीले भनिरहेका हुन्छौं कि माइग्रेनका बिरामीले दैनिक ६ देखि ८ घन्टा सुतेको हुनुपर्छ । बढी तनावपूर्ण जीवनयापन गर्ने, धेरै सोच्नुपर्ने, मानसिक काम बढी गर्नुपर्नेलाई माइग्रेन बढी भएको पाइन्छ ।

खान नहुने कुरा:
माइग्रेन सबैलाई एउटै कारणले दुख्छ भन्ने छैन । कसैलाई दही खाँदा दुख्न सक्छ भने कसैलाई चिसो पेयपदार्थ खाँदा दुख्छ । त्यसैले माइग्रेन हुने व्यक्तिले आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन । मुख्य गरी मही, चिसो पेयपदार्थ, गुन्द्रुक, साँधेको अचार, कफी नखाँदा नै राम्रो हुन्छ । यस्तै धेरैबेर भोकै नबस्ने, घामबाट जोगिने, होहल्लामा नबस्ने, तनाव कम लिने गर्नाले माइग्रेन कम हुन्छ । माइग्रेनलाई कम गर्ने हो भने खाने, बस्ने, सुत्ने जीवनका हरेक गतिविधिको ख्याल गर्नुपर्ने हुन्छ ।

माइग्रेनको प्राकृतिक उपचार:
माइग्रेन मेडिकलको औषधि प्रयोगले निको पार्न सकिन्छ भन्ने दाबी गरे पनि औषधिको प्रयोगले मात्रै माइग्रेन निको हुँदैन । माइग्रेन निको हुनका लागि तपाईंको दैनिक जीवन, खानपानमा परिवर्तन हुनु नै पर्छ । धेरै गाह्रो भएको खण्डमा चिकित्सकको सल्लाहअनुसार मेडिकलको औषधि प्रयोग गर्न सकिन्छ । तर शतप्रतिशत निको हुनको लागि भने प्राकृतिक चिकित्सा विधि अपनाउँदा राम्रो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि पनि फाइदाजनक हो ।
माइग्रेनको विभिन्न किसिमको लक्षण कम गर्न र निको पार्न प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका हुन्छ । टाउको दुखाइले हामीले भनेको समयमा सोचेको काम गर्न सक्दैनौँ । जसले गर्दा यो रोगले तपाईंको जीवन अस्तव्यस्त बनाइदिन पनि सक्छ ।

सजगताका कुरा:

सन्तुलित आहारले माइग्रेनको समस्या अन्त्य हुन सक्छ । आहारमा चकलेट, पनिर, कफी, मदिराजस्ता पदार्थ प्रयोग गर्नुहुँदैन । बरु म्याग्नेसियम र हरियो सागपातको बढी प्रयोग गर्नुपर्छ । अमिलो खानेकुराबाट बच्नुपर्ने हुन्छ । शरीरलाई हाइड्रेट राख्नका लागि दैनिक करिब सात गिलास पानी पिउनु उपयुक्त हुन्छ । खानामा ओमेगा थ्री फ्याटी एसिड र भिटामिन बीको प्रयोग गर्नु राम्रो हुन्छ ।
यस्तै अनिद्राले माइग्रेनलाई असर पु¥याउँछ । लामो समयसम्म टिभी हेर्दा वा स्मार्टफोन चलाउँदा रातमा राम्रो निद्रा नपर्ने समस्या हुन सक्छ । निद्राको अभावले माइग्रेनका लागि ट्रिगरको रूपमा काम गर्छ । जसले गर्दा माइग्रेनको समस्या बढ्दै जान्छ । राम्रो स्वास्थ्यका लागि निश्चित समयमा निदाउनु आवश्यक हुन्छ । तनाव माइग्रेनको कारण हो । त्यसैले मानिसले एक्सरसाइजमा ध्यान दिनुपर्छ । एक्सरसाइजले तनाव कम गर्नुका साथै दिमागमा सकारात्मक सोचको विकास गर्छ । जब तपाईं वर्कआउट गर्नुहुन्छ, त्यसपछि शरीरले फाइदाजनक हर्मोन रिलिज गर्न थाल्छ ।
– असिम शर्मा, रौतहट 

प्रतिक्रिया दिनुहोस्