१५ चैतदेखि त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अग्रिम मिति समेत तय भएको छ ।विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८) बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ।अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ ।तर,उडान–अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको उहाले जानकारी दिनुभयो।कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ ।

अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढेको हो ।प्रवक्ता कर्णका अनुसार विमानस्थल भने अब रातको साढे १२ बजे बन्द हुनेछ । बिहान साढे ६ बजे मात्र खुल्नेछ।यसबीचमा रातको समयमा उडान–अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ ।
दैनिक औसत २३० उडान–अवतरण

काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान–अवतरण भइरहेका छन् । यसमध्ये १५ उडान अन्तर्राष्ट्रियतर्फ भएका छन् । १ सय १५ हाराहारी आन्तरिक उडान छन् । त्यति नै संख्यामा जहाज अवतरण गर्दा यो संख्या २ सय ३० पुग्छ । प्रवक्ता कर्णका अनुसार आन्तरिक उडानमा यात्रु संख्या समेत सन्तोषजनक रहेको छ ।तर, अन्तर्राष्ट्रिय उडानमा भने सोचेजति यात्रु बढ्न सकेका छैनन् । अध्यागमन विभागको आकडा अनुसार मंगलबार त्रिभुवन विमानस्थलबाट १ हजार ६ सय ३७ अन्तर्राष्ट्रिय यात्रु नेपाल भित्रिए । यस दिन १ हजार ३ सय १३ जना यात्रु भने नेपालबाट बाहिरिएका छन् ।