कपिल काफ्ले, काठमाडौं ।
संविधानभन्दा माथि उक्लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकको सार्वभौम अधिकार प्रयोग गर्ने थलो प्रतिनिधिसभा विघटन गर्ने धृष्टता गरेका कारण मात्र उहाँ देशको कार्यकारी प्रमुख हुन अयोग्य रहेको प्रमाणित भएको छैन, अनेक अनुदार व्यवहारका कारण उहाँ मुलुकका लागि बोझ भइसक्नुभएको छ । तर, यति हुँदाहुँदै पनि ‘काँक्रा चोरलाई मुड्की सास्ती’, गोली ठोक्नु आवश्यक छैन ।
–वैद्य, झाँक्री आदि नेपाली थर हुन्, प्रचण्डलाई गाली गर्नका लागि ओलीले यस थरका आम नागरिकको अपमान गर्नुभयो ।
–पर्यटनमन्त्री भइसकेका योगेश भट्टराईलाई ओलीले ‘केटो’ भनेर अपमान गर्नुभयो ।
–आफ्ना अग्रज नेता माधवकुमार नेपाललाई प्रचण्डको ‘कार्यकर्ता’ भनेर हेप्नुभयो । पार्टी बनाउन नेताको जस्तै कार्यकर्ताको पनि योगदान हुन्छ, यसखाले टिप्पणीले आम कार्यकर्ताको मन दुख्छ भन्ने हेक्का राख्नुभएन ।
–भगवान् रामको जन्मभूमि नेपालमै हो भन्दा देशभक्तिको भाव प्रकट भएको थियो, तर यसलाई प्रमाणित गर्न नसक्ने भएपछि ‘म के राम जन्माउने सुडेनी खोज्न जाऔं’ भनेर आमसभामै ओठे जवाफ दिनुभयो । यस्तो टिप्पणीले देशभक्त र श्रीरामलाई मान्ने सबैको चित्त दुख्छ भन्ने हेक्का गर्नुभएन ।
–सरकारमा रहेर पनि प्रतिपक्षको जस्तो सडकमा कार्यकर्ता उतारेर शक्ति देखाउनुभयो, प्रधानमन्त्री आम नेपाली नागरिकको अभिभावक हो, नारायणहिटी अगाडि उभिनेहरुको मात्र होइन भन्ने सैद्धान्तिक विचलन देखाउनुभयो ।
–माधवकुमार नेपालले जस्तै मसिनो स्वर निकालेर उहाँको उपहास ओलीले कति गर्नुभयो–भयो !
केपी ओली लोकतन्त्रका लागि झापामा सशस्त्र विद्रोह गर्दै १४ वर्ष लामो जेलजीवन बिताएका व्यक्ति हुनुहुन्छ भनेर विशेषण लगाउन मिल्ने अवस्था पनि उहाँले समाप्त पार्नुभयो, आफ्नै व्यवहारले । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गर्न नदिएर र दर्जनौं कार्यकर्तालाई अपमान गर्दै बाँस्कोटा नै सर्वाधिक योग्य छन् भन्ने भाषण दिएर उहाँले पूर्वाग्रही र अनुदार चरित्र प्रदर्शन गर्नुभयो । सल्लाहकारहरु पनि उहाँले यस्ता छान्नुभयो, कोही पनि सामुन्यमा उभिएको व्यक्तिको सम्मान गरेर बोल्न नै जान्दैनन् । ‘कम्युनिस्ट जनतासँग सधैं झुकेर बोल्छन्’ भन्ने ओलीले पढेको सिद्धान्त न उहाँमा देखियो, न त उहाँका निकटतम प्रिय पात्रहरुसँग ।
ओलीको व्यवहारलाई लिएर कसैले ठीकै भनेका थिए, ‘जसका विरुद्ध लामो समय लड्यो, विजयी भएपछि उसमा विरोधी पात्रकै चरित्र हावी हुन्छ’ । ओली राजतन्त्रविरुद्ध लड्नुभयो र अन्ततः आफै राजा बन्नुभयो । नेपालको संविधान, २०७२ को अधीनमा रहेर काम गर्ने एक कार्यकारी प्रमुख हुँ भनेर उहाँले बिर्सनुभयो । जनताले दुई–दुईपटक संविधानसभा गठन गरेर बनाएको संविधानभन्दा आफूलाई उहाँले कसरी माथि राख्नुभयो !यी आदि सयौं कमजोरी भए पनि ओलीको शासनकाल भ्रष्टाचारमुक्त भइदिएको भए उहाँको पक्षमा सारा जनता उत्रिने थिए । तर, राजनीतिक नियुक्तिका हरेक पदमा उहाँले ‘चन्दा’ र ‘उपहार’ नलिई उहाँले नियुक्ति दिनुभएको छ? पार्टीको आय–व्यय सार्वजनिक गरेर पारदर्शिता कायम राख्न र दलीय व्यवस्थामा शुद्धीकरण ल्याउन उहाँले कुनै जाँगर देखाउनुभयो? उहाँ कुनै पनि व्यवहारबाट ‘कम्युनिस्ट’ देखिनुभएन । पार्टीको नाममा ‘कम्युनिस्ट’ शब्द राखेका भरमा गरिब जनताले उहाँलाई किन प्रधानमन्त्री बनाइरहने?
प्रधानमन्त्री ओलीले नेकपालाई विभाजित गरेका कारण होइन, प्रतिनिधिसभा विघटन गरेर नेपाली जनताको अपमान गरेका कारण उहाँ अब प्रधानमन्त्री बनिरहन योग्य हुुनुहुन्न । तर, ओलीकै कारण मुलुकमा राजनीतिक अस्थिरता आयो भने आम नागरिक र मुलुकका लागि अझ बढी नोक्सान हुनेछ । निर्वाचन आयोगमा विचाराधीन रहेको पार्टी विभाजनको विवादमा सैद्धान्तिक आधार केही छैन । ओलीको नेतृत्वमा आबद्ध हुँदा मुलुक र जनताले के लाभ पाउने भन्ने आधार देखिँदैन । ओलीको जुँगाका लागि देशव्यापी प्रभावमा रहेका पार्टी किन विभाजित हुने? त्यसैले ओलीलाई ‘गोली ठोक्ने’ होइन, ‘मुड्की हान्ने’ मात्र हो । बदलाको राजनीतिले द्वन्द्व मात्र निम्त्याउँछ, अन्ततः आम नागरिकलाई दुःख मात्र दिन्छ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बदला होइन, एकताका पक्षमा उभिनुपर्छ– संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्कार बनाउन सक्नुपर्छ ।सर्वोच्च अदालतको फैसला आउनासाथ नेकपा अध्यक्ष माधव नेपालले ‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने विषयमा हामीले सोचेका छैनौं, हामीलाई बदनाम गर्ने दुष्प्रयास मात्र हो’ भनेर टिप्पणी दिएको सुन्दा समन्वयात्मक विकल्पले नै प्राथमिकता पाउने आस गर्न सकिन्छ ।
प्रतिक्रिया