के एक जुगमा एक दिन तीनचोटि आउँछ ?


रिसभ तिमिल्सिना

प्रसिद्ध फ्रेन्च लेखक जाँ बप्तिस्ते अल्फोंसे कर्रले करिब एक सय ५० वर्षपहिले लेखेका थिए– ‘द मोर थिङ्स चेन्ज, द मोर दे स्टे द सेम’ अर्थात् ‘जति धेरै परिवर्तन भयो, वास्तवमा परिवर्तन केही भएको हुँदैन ।’ कर्रको यो लेखाइ महत्वपूर्ण छ । किनभने संसारमा जति पनि विकसित देशहरू छन् ती देशहरुमा पनि आर्थिक, सामाजिक र भौतिक परिवर्तन भए । ती देशहरुले परिवर्तनलाई सहजै स्वीकारेर अघि बढे । चाहे चीन, जर्मनी वा जापान नै किन नहुन्, यी देशले समयको महत्व बुझेर विकासको बाटोमा छिट्टै अघि बढे । तर संसारमा यस्ता देश पनि छन् जो वर्षौंदेखि आजको दिनसम्म पनि झैझगडामै अल्झिरहेका छन् । ब्राजिल, टर्की, इजिप्ट इत्यादि यस्ता देश हुन् जहाँका जनताले वर्षौंदेखि आन्दोलन गरिरहेका छन् तर देशले स्थिरता पाउन सकिरहेका छैनन् । कतै हाम्रो देश ब्राजिलको बाटोमा त हिँडिरहेको छैन ?
२००७ सालदेखि हेर्ने हो भने हाम्रो देशमा धेरैपटक राजनीतिक परिवर्तन भए । आजको दिनसम्म आइपुग्दा पनि राजनीतिक परिवर्तन भैरहेको देखिन्छ । परिवर्तन आफैंमा नराम्रो होइन तर एउटै लक्ष्य प्राप्तिको लागि पटक–पटक आन्दोलन गरिनु सुखद विषय होइन । यसले देशमा स्थिरता छैन भन्ने प्रस्ट हुन्छ । २००७ सालदेखि राजनीतिक परिवर्तन राम्ररी बुझ्ने हो भने हामीमा अरुलाई वञ्चित गर्ने र अरुलाई साथ लिएर जान नसक्ने प्रविधि देखिन्छ । उदारणका लागि २००७ सालपछि कांग्रेस पार्टीभित्रका नेताहरुमै झगडा भइरहनु र २०१७ सालमा राजाबाट पञ्चायत व्यवस्था लागू गरिनु ।२०४६ सालपछि विभिन्न पार्टीका नेताहरुमा मनमुटाब हुनु, २०५२ सालमा जनयुद्ध शुरु हुनु, २०६३ सालमा राजाबाट चुनाव गराउन सत्ता लिनु र आजका दिनसम्म आइपुग्दासमेत नेताहरु मिलेर जान नसक्नु नै हाम्रो देशको दुर्भाग्य बनेको छ । यसले कतै हाम्रो देश राजनीतिक भुमरीमा फस्ने त हैन भन्ने प्रश्न उब्जन्छ । कतै देशको अस्तित्व खतरामा परेको भान त हुन्न ? कतै स–साना राजाभन्दा एउटा ठूलो राजा नै ठीक भन्ने भान त हुन्न ?

इतिहासलाई मूल्याङ्कन गर्ने हो भने त्यो समयको परिस्थिति र वातावरणलाई बुझेर गर्नुपर्दछ, नभए इतिहासलाई न्याय हुँदैन । भर्खरै मात्र बेलायतमा त्यहाँका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलको शालिक भैरहेको ठाउँबाट हटाउने वा नहटाउने भन्ने विषयमा निकै विवाद भयो । विन्स्टन चर्चिल जसले बेलायतलाई मात्र नभई युरोपका अरु देशलाई पनि नाजी जर्मनीबाट विजय दिलाए । तिनैको शालिक हटाउनु कत्तिको सान्दर्भिक छ ? त्यो हामीले समीक्षा गर्नु जरुरी देखिन्छ ।
मानिलिऊँ, एकछिन्को लागि हिटलरले युद्ध जितेको भए विश्वको राजनीतिक प्रणाली आजको दिनसम्म आइपुग्दा कस्तो हुन्थ्यो होला ? प्रजातन्त्र र वाक स्वतन्त्रताको महत्व कत्तिको हुन्थ्यो ? भनिन्छ, केही नगर्ने मानिसको मात्र आलोचक हुँदैनन्, केही काम गर्ने हो भने प्रशस्त आलोचक भेटिन्छन् । एकछिन्को लागि राजा महेन्द्रको उदाहरण लिऊँ, उहाँको शासनकाल ठीक थियो कि थिएन ? त्यो समयले बताउला, तर यो पनि बुझ्न जरुरी छ कि आजका दिनसम्म जे–जति महत्वपूर्ण विकास भए त्यसको शुरुवात राजा महेन्द्रले नै गरेका थिए । राणाहरुले सिंहदरबार छोडेको बेला देशको आर्थिक, भौगोलिक र सामाजिक आवस्था के–कस्तो थियो ? त्यो सबैलाई थाहा भएको विषय हो ।

आफ्नै देशको ठाउँमा जानको लागि अरु देशको बाटो प्रयोग गर्नुपर्नेजस्तो नाजुक अवस्थाबाट विश्वको राजनीतिमा प्रभाव पर्न सक्नु त्यो राजा महेन्द्रको निकै ठूलो उपलब्धि हो । उहाँलाई आजका दिनमा नानाथरी आरोप लगाउनु कत्तिको जायज छ ? त्यो हामीले नै समीक्षा गर्नुपर्दछ । हो, उहाँले पनि शायद सबैको साथ लिएर गएको भए नेपाल आज अर्कै हुन्थ्यो होला तर त्यो हुन पाएन । फलस्वरूप २०४६ सालमा पञ्चायत व्यवस्था ढल्यो । निषेधको राजनीतिले गर्दा राणा शासन ढल्यो, पञ्चायत व्यवस्था ढल्यो । कतै अहिलेको गणतन्त्र प्रणाली पनि यस्तै निषेधको राजनीतिले गर्दा ढल्ने त हैन ?कुन देशलाई कस्तो खालको राजनीतिक प्रणाली सुहाउँछ ? त्यो त्यो देशका जनता र राजनीतिज्ञहरुले निर्धारण गर्ने हो । अरुको भनाइमा वा लहैलहैमा लाग्यो भने त्यो धेरै समय टिक्न सक्दैन । कसैले सित्तैमा दिएको सुझाव हामीले होसियारीपूर्वक विचार्नुपर्छ । हाम्रो देश जो दुई ठूला देशको बीचमा अवस्थित छ, यसलाई जहिले पनि आफ्नो अस्तित्वको रक्षाका लागि ‘स्ट्रङ फोर्स’ को आवश्यक पर्दछ । त्यो शक्ति सबैले मान्ने हुनुपर्दछ । तराईदेखि पहाडसम्मका जनताले विश्वास गर्ने हुनुपर्छ ।

अहिले हाम्रो देशको अवस्था चिन्ताजनक देखिन्छ । छिमेकी देशहरुले खुल्लारुपमा दूत पठाएर सुझाव दिनु हाम्रो लागि राम्रो संकेत होइन । राजनीतिक पार्टीका नेताहरुले सधैँ यस्तै झैझगडा गर्ने हो भने एक दिन यस्तो पनि आउन सक्छ कि नेपाली जनताले नै देशको परिस्थिति बुझेर बलियो शक्तिको माग गर्नेछन् । एक जुगमा एकदिन तीनचोटि आउँदैन भन्न सकिँदैन ।