काठमाडौं, (नेस) ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताउनुभएको छ ।
आफ्ना पीडा अवगत गराउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री रामबहादुर थापा र सरकारका उच्चपदस्थ अधिकारीसहितको उक्त छलफलमा प्रधानमन्त्रीले भन्नुभयो– ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानु पर्छ ।’छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिइबीमा मारिएका गरी तीनधारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नुभयो । ‘जतापट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित सन्तानको पीडाहरु उस्तै उस्तै छन।’ –उहाँले भन्नुभयो ।पेन्सन आदि केही पनि नपाउने द्वन्द्वपीडितको परिवार अरुभन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । द्वन्द्वरत कुनै पक्षमै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता पनि थुप्रै संख्यामा पीडित रहेको उहाँले बताउनुभयो । ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ।’ –प्रधानमन्त्रीले भन्नुभयो ।
जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘अब क्षमा गर र बिर्सको भावबाट जानुपर्छ।’ –प्रधानमन्त्रीको भनाइ थियो । यद्यपि मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजाय पाउने पनि प्रधानमन्त्रीले बताउनुभयो ।
द्वन्द्वमा मृतकका परिवार वा घाइतेबाहेक बहिर्गमित लडाकूको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। ‘तीनचार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले शुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ। उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन।’ –प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल २ हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झन्डै १ हजार जना घाइते भएको बताउनुभयो ।
ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उहाँले उल्लेख गर्नुभयो । ‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मीसमेतको मनोबल उच्च हुनेछ।’ –उहाँको भनाइ थियो ।सरकारले मृतक सुरक्षाकर्मीलाई शहीद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया