मीला दरै, तनहुँ ।
देवघाटमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत् वडादम्बर १ को कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युतमार्फत् विद्युत् आपूर्ति भइरहेको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तार गरिएको तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिनुभयो । थिकेका अनुसार नेपाल विद्युत प्राधिकरणमार्फत् कार्यान्वयन भइरहेको कार्यक्रममार्फत तनहुँलाई पूर्ण विद्युतीकरण गरिनेछ ।
त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सफर्मर बिहीबार सञ्चालन ।(चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । ‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौं, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्नेछौं,’ उहाँले भन्नुभयो–‘लाइन पुगेपछि त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित हुनेछन् ।’ विद्युत् आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक÷एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइन पु¥याई विद्युत् आपूर्ति शुरू गरिएको छ ।तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग-वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिर १३ मा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रुपियाँ रहेको छ ।ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनी ३३÷११ केभी वितरण लाइन निर्माण गर्नेछ । कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सब–स्टेसन निर्माणाधीन छन् । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण काम यसै आर्थिक वर्षमा सक्ने लक्ष्य आयोजनाले लिएको छ ।
प्रतिक्रिया