प्रधानमन्त्री ओलीद्वारा उपलब्धि सार्वजनिक

सरकारको तीन वर्ष 


नेपाल समाचारपत्र, काठमाडौं  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा गरेको कामको उपलब्धि सार्वजनिक गर्नुभएको छ । सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा प्रधानन्त्री ओलीले सरकारले गरेको ७४ वटा मुख्य उपलब्धि सार्वजनिक गर्नुभएको हो । उहाँले सरकार गठन भएको १ हजार ९३ दिन अर्थात् ३ वर्षमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति तोकिएको विषयमा जानकारी गराउनुभयो । शुरुदेखि नै सरकार सञ्चालनमा विभिन्न ढंगले काममा व्यवधान खडा गरिएको बताउँदै उहाँले तीन वर्ष आफ्नै खुट्टामा अल्झिएर अलमलिएझैं सरकारले काम गर्नै नपाएको बताउनुभयो ।उहाँले झन्डै ३ वर्षदेखि संवैधानिक आयोगहरु नियुक्त गर्न अवरोध भएको उल्लेख गर्दै पार्टीभित्रैबाट एक प्रकारको समानान्तर सत्ता सञ्चालनको अभ्यास गरिएको आरोप लगाउनुभयो । प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि आफूले धेरैपटक सोचेको बताउँदै उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभाका करिब ६४ प्रतिशत सदस्यद्वारा समर्थित म सर्वसम्मत प्रधानमन्त्री ! संसदीय दलमा मेरा विरुद्ध कुनै उजुरी छैन । संसदीय दलका सदस्यहरुबाट बैठकको समेत माग गरिएको छैन । संसदीय दलको नेता फेर्न सम्भव पनि थिएन । यस्तो अवस्थामा नेकपाबाहेकका अन्य दलहरुबाट वैकल्पिक सरकार बन्ने कुनै सम्भावना नै थिएन ।’

‘मेरो नेतृत्वको गठबन्धनलाई जनमत प्राप्त भयो भने राजनीतिक अस्थिरता रोक्छु, राजनीतिक स्थायित्व, विकास र समृद्धि दिन्छु भनेको सम्झिएँ । अनि विगतमा भएका विश्वास, अविश्वास, विभाजन र समीकरणका अस्वस्थ खेल सम्झिएँ । त्यसले सिर्जना गर्ने अस्थिरताको बाटोमा मुलुकलाई जान दिनै हुँदैन थियो । एकातिर प्रतिनिधिसभाबाट अर्काे सरकार बन्ने विकल्प थिएन । अर्कातिर ६४ प्रतिशत सांसदद्वारा समर्थित सरकारलाई आफ्नै दलका सहकर्मीद्वारा चल्नै दिइएन । यस्तो जटिल अवस्थामा राष्ट्रप्रति जिम्मेवार हुँदै जनतालाई ‘हिजो तपाईंहरुले दिनुभएको मतद्वारा सिर्जित यस प्रतिनिधिसभाले काम गर्न सकेन, अब ताजा जनादेशको लागि जाऊँ’ भन्ने अनुरोध गर्ने निर्णयमा म पुगें।’ –उहाँले भन्नुभयो ।प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम होस् भन्ने पवित्र उद्देश्यका साथ ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउँदै प्रधानमन्त्री ओलीले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको दाबी गर्नुभयो ।

पहिलो वर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्ष मानेको बताउँदै उहाँले तीन वर्षको अवधिमा सरकारले सन्तोषजनक उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले यस अवधिमा संविधान कार्यान्वनका लागि आवश्यक नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाहरू तयार भएको बताउँदै यस अवधिमा संविधान पूर्णतः कार्यान्वयनमा आएको र सबै पक्षलाई स्वीकार्य पनि भएको बताउनुभयो ।उहाँले तीन वर्षको औसत वृद्धि साढे पाँच प्रतिशतको हाराहारी रहे पनि कोभिड–१९ को असर घट्दै जाँदा अहिले अर्थतन्त्र फेरि पुरानै लयमा फर्किरहेको बताउँदै चालू आर्थिक वर्षको पहिलो ६ महिनाका केही तथ्याङ्कले अर्थतन्त्र पुनः उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भइसकेको दाबी गर्नुभयो । अर्को वर्ष पन्ध्रौं योजनाले प्रक्षेपण गरेको १० प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर हासिल हुने सम्भावना प्रबल रहेको उहाँले बताउनुभयो ।तीन वर्षको अवधिमा सार्वजनिक खर्चको आकारमा झन्डै २९ प्रतिशतले वृद्धि भएको बताउँदै ९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उकालिएको बताउनुभयो । ५ वटाबाहेक सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखाहरू खुलेको उल्लेख गर्दै पछिल्लो डेढ वर्षको अवधिमा मात्रै ६८ लाखभन्दा बढी बैंक खाता थप भएको बताउनुभयो ।

उहाँले २०७६ साउनदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि २ अर्ब ३५ करोड बराबरको लागत बचत भएको उपलब्धिमा समावेश गर्नुभएको छ । रानीपोखरी निर्माण सम्पन्न भएको र धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।सरकार गठन भएको तीन वर्षको अवधिमा प्रतिदिन करिब ५ किलोमिटरभन्दा बढीका दरले कालोपत्रे सडक निर्माण भइरहेको बताउँदै भन्नुभयो– ‘यस तीन वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय तहसहितका निकायबाट कालोपत्रे सडक ५ हजार ४ सय ९८ किलोमिटर निर्माण भयो ।’जनता आवास भवन निर्माणतर्फ एक दिनमा कम्तीमा १२ वटाका दरले थप १३ हजार ८५ भवन निर्माण सम्पन्न भएको बताउँदै यस कार्यक्रमअन्तर्गत ३४ हजार ५ सय ७ भवनको निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो ।भौतिक पूर्वाधारअन्तर्गतका ७ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको २०७४ फागुनको तुलनामा २०७७ पुस मसान्तसम्मको भौतिक प्रगतिमा सुधार भएको बताउँदै हुलाकी राजमार्ग २५ बाट ६८ दशमलव २ प्रतिशत, कालीगण्डकी कोरिडर (जोमसोम खण्ड) ५६ प्रतिशत, कालीगण्डकी कोरिडर (पाल्पा खण्ड) २० दशमलव ५ प्रतिशत, काठमाडौं–तराई द्रूतमार्ग ११ दशमलव १ प्रतिशत, उत्तर–दक्षिण (कर्णाली) लोकमार्ग १२ दशमलव ५ बाट २३ प्रतिशत, रेल, मेट्रोरेल, मोनोरेल आयोजना ८ दशमलव ८ बाट २३ दशमलव २ प्रतिशत र पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र उत्तर दक्षिण (कोसी) लोकमार्गको पनि प्रगति भइरहेको बताउनुभयो ।

तीन वर्षमा विद्युत् उत्पादन ३ सय ३३ मेगावाट थप भई १ हजार ४ सय ३० मेगावाट पुगेको र माथिल्लो तामाकोसी ९८दशमलव ८ प्रतिशत सम्पन्न भइसकेकाले यस परियोजनाबाटै यसै आर्थिक वर्षमा ४ सय ५६ मेगवाट विद्युत् थप हुने निश्चित भएको बताउनुभयो ।सरकार गठन भएपछि समग्रमा यस अवधिमा आयात १२ दशमलव १ प्रतिशतले घटेको र निर्यात ४ दशमलव ५ प्रतिशतले बढेको बताउँदै कूल गार्हस्थ उत्पादनको अनुपातमा व्यापार घाटा ९ प्रतिशतले घटेको उहाँले बताउनुभयो ।शून्यको स्थितिबाट ७७ जिल्लामा फोर–जी सेवा विस्तार भएको बताउँदै इन्टरनेट ग्राहक घनत्व ५१ दशमलव २ प्रतिशतबाट ८० दशमलव १ प्रतिशत पुगेको । ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ३१ जिल्लामा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध भएको बताउनुभयो ।तीन वर्षको अवधिमा नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको संख्या २९ बाट ३६ पुगेको छ र यीमध्ये रातीको समयमा पनि चल्ने विमानस्थलको संख्या ८ पुगेको बताउनुभयो । अहिले सरकारले कोरोनाविरुद्धको खोप नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने चरणमा रहेको बताउँदै खोप अभियान शुरु गर्नेमा नेपाल, दक्षिण एसियामै दोस्रो मुलुक भएको बताउनुभयो ।

‘अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध ६ हजार ४ सय ९० शैयामा ३८ दशमलव ४ प्रतिशत (२ हजार ४ सय ९२) थप गरिएको छ । अस्पताल र स्वास्थ्यचौकीमा उपलब्ध कूल शैया ८ हजार ९ सय ८२ पुगेको छ । यस वर्ष मात्र ३ सय ९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम आगामी २ वर्षभित्र सम्पन्न हुने स्थानीय स्तरका यी अस्पतालमा थप ८ हजार शैया उपलब्ध हुनेछ।’ –उहाँले भन्नुभयो ।विभिन्न ८ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ५ लाखले थप भई ३० लाख ६० हजार पुगेको बताउँदै उहाँले मासिक सय रुपियाँबाट शुरु गरिएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता, दैनिक सय (मासिक तीन हजार रुपियाँ) पु¥याइएको बताउनुभयो ।यस वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता गरेको बताउँदै विशेष अनुसन्धानबाट मुद्दा दायर गरिएको संख्या ३ वर्ष पहिले १ सय ९४ रहेकोमा यस आर्थिक वर्षमा मात्रै ४ सय ४१ रहेको बताउनुभयो । आम नागरिकको प्रत्यक्ष सरोकार रहने तथा सेवा प्रवाहमा झन्झट र सास्ती खेप्नुपर्ने सरकारी सेवाहरुको पहिचान गरी घरैबाट सेवा लिन सकिने गरी नागरिक एप्सको परीक्षण शुरु भएको जानकारी दिँदै एप्स हालसम्म ४ लाख ५० हजारभन्दा बढी डाउनलोड गरिएको बताउनुभयो ।

पाँच वर्षको अवधिमा मुलुकमा थप परिवर्तनको अनुभूति गराउन कतिपय रुपान्तरणकारी कार्यक्रमहरु घोषणा गरिए पनि ‘समय अगावै’ निर्वाचनमा जानुपरेकाले ती कार्यक्रम जारी कार्यक्रमको सूचीमा रहेको उहाँले बताउनुभयो ।‘केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु, चुनाव हुन्छ । स्वच्छ, स्वतन्त्र र निस्पक्ष चुनाव हुन्छ । २०७८ वैशाख १७ र २७ गते गरी २ चरणमा हुन्छ । वैशाख १७ गते ४ वटा प्रदेशका ४० जिल्लामा र २७ गते बाँकी ३ वटा प्रदेशका ३७ जिल्लामा हुन्छ।’ –उहाँले भन्नुभयो । वैशाखमा हुने निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचुर हुने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्ने दाबी गर्नुभयो ।