कुनै पनि वस्तुले शरीरमा पर्ने उल्टो असरलाई एलर्जी भन्न सकिन्छ । अर्थात् कुनै पनि चिजको सम्पर्कमा आउनेबित्तिकै शरीरमा उल्टो असर देखिने अवस्था नै एलर्जी हो । जस्तो कि घाम, बोटबिरुवा, धूलो, बासना, औषधि आदि । कसैलाई माछा सुँघ्नै हुँदैन, कसैलाई धूलोको एलर्जी हुन्छ भने कसैलाई कुनै औषधिले पनि एलर्जी हुन्छ ।
एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ । हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ । मास सेल सबैभन्दा बढी छालामा हुन्छ । त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनिमा हुन्छ । एलर्जी भयो भने यी अंगहरू प्रभावित हुन्छन् । छालामा भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाच्छिऊँ आउने, श्वासनलीमा भयो भने खोकी र दम हुने र आँखामा भयो भने आँसु आउने हुन्छ । यीमध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ । जुन एलर्जीको कारण श्वास फेर्न गाह्रो हुन्छ ।
एलर्जी शरीरमा हुँदैन । सबैको शरीरमा मास सेल हुन्छ । यसले शरीरमा विभिन्न काम गर्छ । जस्तो– नाकमा धूलो गयो भने जानेबित्तिकै बाहिर निकाल्छ । त्यो सेलले धूलोलाई शरीरमा हानि गर्ने वस्तु भनेर ठान्छ । धूलो नाकमा जानेबित्तिकै हाच्छिऊँ गरेर बाहिर ननिस्के फोक्सोमा पुग्छ । बच्चा पाउने बेलामा पाठेघरलाई बाहिर निकाल्न मद्दत गर्छ । त्यस्तो मास सेल हरेक मानिसको शरीरमा हुन्छ । शरीरमा आफ्नै तरिकाले काम गरिरहेको सेलले कुनै–कुनै वस्तु बढी भएको ठान्छ । शरीरमा भएको हिस्टामिन मास सेलबाट बाहिर निस्कँदा बढी प्रतिक्रिया देखाउँछ र एलर्जी हुन्छ ।
एलर्जीको उपचार पनि छ । पहिला त लक्षणअनुसारको उपचार हुन्छ । चिलाउने छ भने नचिलाउने औषधि दिइन्छ । श्वास फेर्न गाह्रो भयो भने श्वास खुल्ने औषधि, आँखाको छ भने आँखामा हाल्ने औषधि छ, हाच्छिऊँ आएको छ भने नाकमा राख्ने औषधि छ । अर्को उपचार भनेको मास सेलभित्र रहेको हिस्टामिन नामक रसायनलाई भित्रै रोकेर राख्ने औषधि हो । तर यस्ता कडा औषधि सधैँ खाइरहनु उचित हुँदैन ।कतिपय अवस्थामा आफूलाई कुन कुराको एलर्जी छ भन्ने विषयमा जानकारी नहुन सक्छ । यो पहिल्यै थाहा पाएर जोगिन वा आफूलाई कुन खालको एलर्जी छ भनेर परीक्षण गर्ने सुविधा पनि छ । एलर्जी पत्ता लाग्यो भने त्यो चिजबाट टाढा रहने हो । कतिपय एलर्जी आफ्नै अनुभवबाट पनि थाहा हुन्छ ।
– सुमन खड्का, थापागाउँ, काठमाडौं
प्रतिक्रिया