भागरथी हत्या प्रकरण :दोषी अझै पत्ता लागेन, आन्दोलन जारी


विनोदसिंह विष्ट, बैतडी

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषीलाई पत्ता लगाउन प्रहरीले अझै सकेको छैन । माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बीभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जंगलमा फेला परेकी थिइन् ।घटनाको बृहत् अनुसन्धान र अध्ययनपछि दोषी पत्ता लगाउन कुरामा आफूहरु नजिक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभएको छ । शंकास्पद व्यक्तिलाई सोधपुछ, कलडिटेललगायतका अनुसन्धानबाट अपराधिको नजिक पुगेकाले छिट्टै दोषी सार्वजनिक गर्ने उहाँ बताउनुहुन्छ ।

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन । भागरथीको भजाइनल स्वाब संकलन गरी राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाइएकाले रिपोर्टपछि मात्रै सामूहिक हो वा एक जनाले बलात्कार गरेको खुल्ने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । ‘घटनास्थलमा भेटिएका प्रमाणहरु पनि प्रयोगशालामा पठाएका छौं, त्यसबाट थप कुरा थाहा हुन्छ ।’ – उहाँले भन्नुभयो ।
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु रहेका छन् ।
यता घटना भएको ९ दिन बितिसक्दासमेत दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलित भएका छन् । गाउँपालिकामा गठन गरिएको संघर्षसमितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन गरेको थियो । जिल्लामा गठन गरिएको संघर्ष समितिका आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन् ।

माघ २६ गते दीप प्रज्ज्वलन, २७ गते सिठ्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, ३० गते थाल ठटाई, फागुन १ गते घण्ट बजाइएको संघर्ष समितिले जनाएको छ । भागरथीको हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिका सदस्य महेश दत्त भट्टले बताउनुभयो । दोषीलाई यथाशीघ्र पत्ता लगाई सार्वजनिक नगरिए आन्दोलनलाई थप सशक्त पारिने भट्टको भनाइ छ ।

शव सुरक्षित राख्न समस्या

घटना भएको धेरै दिन बिते पनि भागरथी दाहसंस्कार हुन सकेको छैन् । गत शनिबार शव परीक्षण सम्पन्न गरिएको भए पनि आफन्तले अझै शव बुझ्न मानेका छैन्न् । घटनाका सत्यतथ्य छानब्नि गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताउनुभयो ।

जिल्ला अस्पतालमा रहेको भागरथीको शव आफन्तले बुझ्न नमान्दा शव सुरक्षित राख्न समस्या भएको छ । अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभएको छ । ‘मर्चरी नहुँदा हाल आइसमा राख्ने गरेका छौं’, उहाँ भन्नुहुन्छ– ‘मर्चरी मगाउने पहल गरेका छौं, तर प्रदेशमै मर्चरी छैन ।’आइसमा राखिएको भए पनि शव गह्नाउन थालेको डाक्टर जोशीले बताउनुहुन्छ । ‘आइसलाई दिनदिनै फेर्ने गरेका छौं, तर पनि लामो समयसम्म राख्न सम्भव छैन, सडिहाल्छ ।’ – उहाँ भन्नुहुन्छ ।