मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ


काठमाडौं, (नेस) ।

मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ ।ट्राफिक प्रहरीले केही महिनायता सक्रियतापूर्वक सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । विशेष अप्रेसन टोली परिचालनसँगै चोरीमा संलग्न गिरोह मोटरसाइकलसहित पक्राउ पर्ने क्रम बढेको छ ।

गत माघ महिनामा मोटरसाइकल चोरीमा संलग्न ११ जनालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको महाशाखाले जानकारी दिएको छ ।सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट धादिङ गजुरीका धनबहादुर तामाङलाई वास्तविक नम्बर परिवर्तन गरी बाप्र ३–०२–०२०प४८२४ राखेको अवस्थामा पक्राउ गरेको हो भने बल्खुबाट पल्सर मोटरसाइकलसहित धादिङ थाक्रेका इन्द्र तामाङ र ऋषिलाल तामाङलाई प्रदेश ३–०२–०११प८९२९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ गरी तीनै जनामाथि अनुसन्धान गर्दा मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्दै आएका निरस थिङ भएको तथ्य पत्ता लागेको थियो । त्यसपछि सो टोलीले थिङलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।पक्राउ परेका मोटरसाइकल गत मंसिर २९ गते भक्तपुरका सुसन थापा मगर र पुस २२ गते रामेछापका हीराकाजी श्रेष्ठको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ ।

थापा मगरको प्रदेश ३–०२–०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ गरेको अवस्थामा चोरी भएको थियो भने श्रेष्ठको बागमती प्रदेश ०२–०१९प९५०८ नम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको थियो ।पछिल्लो समय उपत्यकाका विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ ।