प्रेरणा लिएर सफाइमा जुट्न कोइरालाको आग्रह


नेपाल समाचारपत्र, काभ्रे ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नदीलाई पूर्णरुपमा सफाइ गर्न मुहानमा बस्ने बासिन्दाले प्रेरणा लिएर सरसफाइमा जुट्नुपर्ने बताउनुभएको छ । उहाँले सो कुरा शनिबार पनौतीको पवित्र तीर्थस्थल त्रिवेणी घाटको सरसफाइमा सहभागी हुँदै आफ्नो मन्तव्यका क्रममा बताउनुभएको हो ।‘मुहानदेखि नै सरसफाइ गर्दै आउनुपर्छ र मुहानमा बसेका नागरिक सचेत हुनुपर्छ।’ –महामन्त्री कोइरालाको भनाइ थियो । ‘सरसफाइमा ध्यान नदिने स्थानीय सरकार कि त सच्चिनुपर्छ कि त आउँदो निर्वाचनबाट यस्तो सरकारलाई परास्त गर्नुपर्छ’, बागमती सरसफाइ अभियानका प्रमुख अभियन्ता लीलामणि पौडेलले भन्नुभयो– ‘स्थानीय सरकारको प्राथमिकता नगरको सरसफाइ पनि हुनुपर्छ ।’

पनौती त्रिवेणी सरसफाइ अभियानको स्वर्ण महोत्सवको उपलक्ष्यमा नगरका स्थानीय बासिन्दा तथा नगरभित्र नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति तथा समूहलाई आउँदो मकर मेलाको तयारी तथा सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्ने सन्देश दिने उद्देश्यले आधा दर्जन अभियान्ता पनौती पुगेका थिए । सुमित्रा बञ्जाराको संयोजकत्वमा रहेको पनौती त्रिवेणी सरसफाइ नागरिक अभियानअन्तर्गत २०७५ चैतदेखि नै हरेक शनिबार त्रिवेणीमा मिसिने लीलावती र पुण्यवती नदीको सरसफाइ हुँदै आएको छ । यो अभियानमा अधिकांश महिला सहभागी छन् ।अभियानको एक सय हप्ता पुगेको अवसरमा शनिबार कांग्रेस महामन्त्री डा. कोइराला, बागमती सरसफाइका प्रमुख अभियन्ता पौडेलका साथै अभियन्ताहरु उत्तम पुडासैनी, चक्रपथ सफाइका अभियन्ता ताराबहादुर कुँवर, किशोर शाहीलगायत पनौती पुगेका थिए ।

त्यसै गरी कार्यक्रममा अभियन्ता कुँवरले आफूले चक्रपथ सफाइ अभियान थालेको तथा त्रिवेणी सफाइ अभियानमा पनि मनैदेखि सहयोग गर्न र प्रतिबद्धता जनाउन पनौती आएको बताउनुभयो । उहाँले भूकम्प गएदेखि कोरोना कहर र बन्दाबन्दीको बेलामा सक्दो सहयोग गरेको बताउँदै आवश्यक परे जुनसुकै बेला पनि तयार रहेको बताउनुभयो । त्यसै गरी काभ्रे भुम्लु गाउँपालिकाको १० वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने उहाँको भनाइ थियो । उहाँले सो कार्यक्रममा स्वास्थ्य सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो ।नदी सरसफाइ गर्नुका साथै आउँदो मकर मेलाको व्यवस्थापनमा पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको भन्ने सन्देश दिँदै त्रिवेणी सरसफाइ अभियन्ताले पनौती नगर पनि परिक्रमा गरेका थिए ।

जनप्रतिनिधिहरु नभएको बेला अघिल्लो मकर मेला व्यवस्थित गर्न एक वर्षअगावै नगरपालिका लागिपरे पनि अहिले आफ्नो नगरको गौरव बचाउने कुरामा नगरपालिकाले बेवास्ता गरिरहेको कांग्रेस जिल्ला सभापति मधु आचार्यको भनाइ थियो । हरेक १२ वर्षमा लाग्ने पनौतीको मकर मेलामा देशभरबाट लाखौं भक्तजन त्रिवेणीमा स्नान गर्न आउँछन् ।पनौती त्रिवेणी अभियानका अभियन्ताहरुले पनौती नगरपालिकालाई ‘क्लिन पनौती, ग्रिन पनौती’ बनाउने अभियानका लागि हरेक हप्ताको एक दिन सरसफाइ अभियान सञ्चालन गरिएको बताएका थिए ।

२०७८ माघ महिनाभरि मकर मेला लाग्दै छ । पनौती पवित्र तीर्थस्थल भएको र नगरकै गौरव बढ्ने कुरामा पनि नगरपालिका उदासिन दा स्थानीय बासिन्दा चिन्तित भएको भन्दै आचार्य भन्नुहुन्छ– ‘चाँडोभन्दा चाँडो मकर मेलाको तयारी गर्नुपर्‍यो ।’ नगरपालिकाले मकर मेलाको तयारीका लागि करोडां रुपियाँ जुटाएको छ भनेर नहुने, फिल्डमा काम देखिनुपर्ने उहाँको भनाइ थियो ।