मिलान गर्न चाहने स्वास्थ्यका कर्मचारीसँग निवेदन माग



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले समायोजन नभएका, भएका र मिलान गर्न चाहने स्वास्थ्यका कर्मचारीसँग निवेदन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलान गर्न चाहने कर्मचारीहरुले फागुन १ देखि १६ गतेसम्म समायोजन र मिलानका लागि निवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७’मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने जनाएको छ ।

संघीय मामिलाले कर्मचारीलाई पायक पर्ने स्थानमा सरुवा हुन सक्ने गरी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको थियो । समायोजनका क्रममा अपायक स्थानमा समायोजन भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी कर्मचारी समायोजन÷मिलानसम्बन्धी मापदण्ड बनाइएको छ ।सोहीअनुरुप स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयले सँचना जारी गर्दै स्वास्थ्य सेवाका यसअघि समायोजन भएका वा समायोजन हुन बाँकी रहेका र यसअघि निवेदन दिएका वा नदिएका कर्मचारीको समायोजन तथा मिलान गरिने भएकाले इच्छुक कर्मचारीलाई अनलाइन निवेदन पठाउन भनेको हो ।

यसका लागि मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीका लागि ‘स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलानसम्बन्धी व्यवस्थाहरू, २०७७’ समेत ल्याएको छ । समायोजनका लागि निवेदन दिन चाहने कर्मचारीले मन्त्रालयको वेबसाइटमा रहेको उक्त व्यवस्थाअनुसार नै तोकिएको ढाँचाअनुसार निवेदन दिन पनि सँचित गरेको छ । निवेदकले समायोजन भएको र समायोजन भई जान इच्छुक भएको तहको तोकिएबमोजिम ढाँचामा सहमति पत्र र यसअघि समायोजन भएको समायोजनको पत्र पनि निवेदनका साथ पेस गर्नुपर्ने बताइएको छ।

सरकारले २०७५ सालमा ८२ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन गरेको थियो । त्यस समायोजनका क्रममा घर पायक नभएका, आफँले रोजेको कार्यालयमा काम गर्न नपाएका, व्यक्तिगत र पारिवारिकरूपमा समस्यामा परेका कर्मचारीलाई सहजीकरण गर्ने गरी मन्त्रालयले मापदण्ड कार्यान्वयनमा ल्याएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्