आज बुटवलमा ओली समूहको प्रदेशस्तरीय बृहत् सभा, २ लाख नागरिक उतार्ने दाबी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज ‘लुम्बिनी प्रदेशस्तरीय बृहत् सभा’ गर्दैछ । बुटवलस्थित् सिद्देश्वरी मैदानमा हन लागेको सभामा समूहका अध्यक्ष प्रधानमन्त्री ओलीलगाएत अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सम्बोधन गर्ने भएका छन् ।

यसअघि ओली समहले बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंस्थित नारायणहिटी दरबार संग्राहलय अगाडि सभा गरेको थियो । यस्तै, आगामी फगुन ८ गते विराटनगरमा सभा गर्ने ओली पक्षले जनाएको छ । सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला गरी २ लाख नागरिक उतार्ने उक्त समूहले दावी गरेको छ ।

राजमार्ग चौराह, गोलपार्क, पश्चिम बुटवल लगायतका बिभिन्न स्थानबाट बिहान ११ बजे सुरु हुने जुलुश मिलनचौक हुँदै सभास्थलमा कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुई समूहमा चिरा परेको छ ।

ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै प्रचण्ड-नेपाल समूहले भने हाल देशभर विरोध र सडक संघर्षका कार्यक्रम अघि बढाएको छ ।