नेपालको कानुनअनुसार कसैको मञ्जुरीविना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनक्रियालाई बलात्कार भनिन्छ । त्यसै गरी उमेर नपुगेका बालिकालाई ललाइफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनकार्यलाई पनि बलात्कारको रूपमा लिइन्छ भनी उल्लेख गरिएको छ । कुनै महिलामाथि बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्छन् तर तीमध्ये मुख्य कारणचाहिँ महिलाको शरीरलाई वस्तुको रूपमा हेर्ने पितृसत्तात्मक सोच हो ।
महिलाको शरीरलाई खेलौना तथा मनोरञ्जनको साधनको रूपमा हेर्ने पुरुषको नालायकी सोचको कारणले नै महिलामाथि बलात्कारका घटना हुने गरेका छन् । बलात्कारका घटनाहरु हुनुका अन्य कारणहरूमा पुरुषहरु वैदेशिक रोजगारीको लागि विदेश जानु, स्कुल तथा कलेजमै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड संस्कृतिको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर) का कारणले पनि बलात्कारको घटना हुने गरेको छ ।बलात्कारमा परेकी बालिका अथवा कुनै महिलाले उसको बाँकी जीवन मानसिकरूपले पटक–पटक बलात्कृत हुँदै बाँचिरहेकी हुन्छे तर बलात्कारी भने कम्तीमा ५ वर्षदेखि बढीमा २० वर्ष जेल बसेर छुट्छ ।
एउटी बालिकाको जिन्दगी नर्कभन्दा पनि बढ्ता हुँदै गर्दा राज्यले बलात्कारीलाई बकाइदा जेलभित्र दालभात खुवाएर पालेको हुन्छ । अझ पैसा र पहुँचवाला छ भने त उसले सकेसम्म जेल बस्नै पर्दैन, बसिहाले पनि पूरा सजाय भोग्नै पर्दैन । बलात्कारी छुटाउन राजनीतिक दबाबको त झन् कुरै नगरौँ ।जतिसुकै सजायको व्यवस्था गरिए पनि अधिकांश बलात्कारका घटना अदालतसम्म पुग्नै पाउँदैनन् । परिवारदेखि प्रहरीसम्मै मिलेमतोमा लागेर घटना सामसुम पारिन्छ । पुगिहाले पनि पीडकलाई छुटाउन र निर्दोष साबित गर्न कुनै कसर बाँकी राखिँदैन र पीडितको पक्षमा होइन, पीडकको पक्षमा फैसला आउँछन् । कुनै पनि अपराध न्यूनीकरण गर्न अपराधीलाई दिइने सजायले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले बलात्कारका अपराधमा पनि बलात्कारीलाई राज्यले जबसम्म कठोर सजायको व्यवस्था गर्दैन तबसम्म यस्ता अपराधीको मनोबल वृद्धि भइरहन्छ ।
–कृति कार्की, नेपालगन्ज
प्रतिक्रिया