लयमा फर्किदै औद्योगिक क्षेत्रका उद्योगहरू

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
कोरोना महामारीले कारोबार प्रभावित भएका वीरगन्ज करिडोरका केही उद्योग पुनः लयमा फर्किएका छन् । केही उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् भने कतिपयले उत्पादन क्षमता बढाउने प्रयास जारी राखेका छन् ।

दशैं, तिहारपछि करिब ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका केही उद्योगले अझै पनि कोरोनाको असरबाट पूर्णरूपमा तंग्रिएका छैनन् । उत्पादन लागत नघट्नु, दक्ष कामदार ल्याउन असहज हुनु, विद्युत शुल्कमा सहुलियत नदिनु र उत्पादित वस्तुको बिक्रीले गति नलिनु जस्ता समस्या रहेको उद्योगीहरूले बताएका छन् । कोभिड महामारीपछि उपभोक्ताको क्रय शक्ति घटेको छ । सरकारका विकास आयोजनाको निर्माणको गति पनि सुस्त छ । यसको असर सोझै बजारमा पर्दा उद्योगहरू अझैसम्म पूर्ण क्षमतामा सञ्चालन गर्दा नोक्सान हुने हिसाब उद्योगीहरूको छ । जति बिक्री हुन्छ त्यतिमात्रै उत्पादन गरेर पठाउने गरिरहँदा उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेका हुन् । निर्माण सामग्रीका उद्योगहरूका धेरै उत्पादन आफ्नो र बिक्रेताका गोदाममा थुप्रिएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया कोरोना महामारीको असर उद्योग व्यवसायमा लामो समयसम्म परिररहने देखिएको बताउनुभयो ।वीरगन्ज करिडोरमा करिब ३ हजार सानाठुला उद्योगहरु रहेको र कोभिडको नौ महिनाको अवधिले पारेको असरबाट कोही पनि मुक्त भएको उहाँले बताउनुभयो । चाहेर पनि धेरै उद्योग पहिलेको लयमा फर्किन नसकेको भन्दै उहाँले बजारले गति लिन थाले पनि अझै करिब ३ महिना समय सहज हुन लाग्ने अध्यक्ष केडियाले बताउनुभयो । कोरोनाबाट प्रभावित उद्योगमा बढीजसो फलाम, सिमेन्ट र पर्यटन व्यवसाय रहेको अर्का उद्योगी तथा निम्बस समूहका अध्यक्ष जगदीश अग्रवालले बताउनुभयो ।

कोरोना प्रभावित उद्योगी व्यवसायीलाई सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउने राष्ट्र बैंकको नीति भने समयसापेक्ष भएको उहाँको विश्लेषण छ । अर्का उद्योगी अनिल रुंगटाले वीरगन्ज करिडोरका उद्यगका लागि मुख्य समस्या सरकारले पु“जीगत खर्च बढाउन नसक्नु रहेको बताउनुभयो । उद्योगले उत्पादित समानको उचित मूल्य नपाएर गोदाममा भण्डारण गरी राख्नु परेको अवस्था रहेको उहाँले बताउनुभयो ।