प्राथमिकताका आधारमा खोप दिइएन



नेपाल समाचारपत्र, काठमाडौं । 

कोरोनाविरुद्धको खोप प्राप्त गर्नु नेपालका लागि धेरै खुसीको कुरा हो । पहिलो चरणमा स्वास्थ्यकर्मी र सरसफाइमा खटिने कर्मचारीलाई खोप लगाउने योजना सम्पन्न भइसकेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारीमा ४ लाख ३० हजार जनालाई लक्षित गरिएको भए पनि २ लाख पनि नपुगेपछि सरकारले दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको छ ।

स्वास्थ्यकर्मीलाई छुट्याएको खोपबाट बाँकी हुन आएको खोप दोस्रो चरणमा पत्रकार र कूटनीतिक नियोगका व्यक्तिहरुलाई लक्षित गरी लगाउन सरकारले गरेको निर्णयप्रति असन्तुष्टि पनि आएका छन् । सरकारले प्राथमिकताका आधारमा खोप नदिएको तथा विज्ञ समूहले दिएको सुझाव नमानेको भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाका साथ सर्वसाधारणले पनि आपत्ति जनाएका छन् ।डा. माथेमाले मधुमेह भएका, मिर्गौला पीडितलगायत दीर्घ रोगीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिनुपर्ने विषयमा जोड दिनुभएको छ । उहाँले विज्ञहरुले सुझाव दिएभन्दा बाहिरी दायरामा रहेका अस्पताल बोर्डका पदाधिकारीले पनि खोप लगाइरहेको आरोप लगाउनुभयो ।

दोस्रो चरणमा एकैपटक सबै वृद्धवृद्धालाई खोप दिन नपुग्ने भएकाले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाइएको उहाँको भनाइ छ । चरणबद्धरूपमा सबैले खोप पाउने उहाँ बताउनुहुन्छ ।यस विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दीलगायतलाई खोप दिइएको र दोस्रो चरणमा पत्रकार र कूटनीतिक नियोगका व्यक्ति र उनीहरुको परिवारमा आश्रित परिवारलाई दिने निर्णय गरिएको बताउनुभयो ।डा. गौतम भन्नुहुन्छ– ‘हामीले काम गरिरहेका छौं । सरकारको विरोधका लागि विरोध हुनुहुँदैन । राम्रा कामको तारिफ पनि हुनुपर्छ ।’ डा. गौतमका अनुसार अहिले खोपको मौजुदाबारे नबुझेकाले पनि बाहिर विरोध भएको हुनसक्ने र त्यो स्वभाविकै भएको बताउनुभयो । मन्त्रालयले रचनात्मक सुझावलाई मनन गरेको डा. गौतमले बताउनुभयो ।

यता डा. माथेमाले भने सरकारलाई खोप भित्र्याउनु पहिला नै रचनात्मक सुझाव दिएको बताउँदै आउनुभएको छ । सरकार र विज्ञहरुले जुहारी खेल्नुभन्दा पनि यथार्थतामा रहेर छलफलका माध्यमबाट समस्याको समाधान निकाल्नेतर्फ लाग्नुपर्ने डा. गौतमको सुझाव छ । उहाँ भन्नुहुन्छ– ‘सरकारले सबै नागरिकका लागि पालैपालो खोप दिएरै छाड्छ त्यसमा कसैले शंका नगरे हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्