प्राथमिकताका आधारमा शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न आग्रह


काठमाडौं, (नेस) ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि आग्रह गरेको हो ।
मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ । मन्त्रालयले प्राथमिकताका आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरिएकोे पत्रमा उल्लेख छ ।

यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एनप्याब्सनलगायत सरोकारवाला निकायले लाखौं विद्यार्थीसँग जोडिने र फ्रन्ट लाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्रीसमक्ष आग्रह गरिसक्नुभएको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।

मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंक्तिको सूचीमा शिक्षकलाई राख्न आग्रह गर्नुभएको थियो । मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि स्वाथ्य मन्त्रालयले थप प्रक्रिया अघि बढाउने विषयमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।यसअघि शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड–१९ को खोप लगाउने विषयमा तथ्याङ्क संकलन गरिसकेको थियो । सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कूटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शुरु गरिसकेको छ । यही माघ १४ गतेबाट शुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट शुरु भइसकेको छ ।

कोभिडविरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो ।स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचारअनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ ।