रोजगारीको अनिकाल


कोरोना संक्रमणले विश्वको अर्थतन्त्रमा गम्भीर असर पारिरहेका बेला नेपालमा भने विदेशबाट भित्रिने विप्रेषण (रेमिट्यान्स)मा कुनै कमी आएको देखिँदैन । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब बराबरको रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । कामको खोजीमा विभिन्न मुलुक पुगेका नेपालीले उक्त रुपियाँ नेपाल पठाएको पनि नेपाल राष्ट्र बैकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ११ दशमलव १ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको बैंकको तथ्याङ्कले देखाएको छ । यसले नेपालको आर्थिक परिसूचकमा सकारात्मक प्रभाव पारेको देखिन्छ । मुलुकको राजनीतिक अवस्था डामाडोल भए दपनि आर्थिकरुपमा भने नेपाल सबल नै रहेको बैंकको तथ्याङ्कले देखाएको छ । विदेशबाट भित्रिने विप्रेषण आप्रवाह वृद्धि भए पनि रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा भने ७७ प्रतिशतले कमी आएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा कामका लागि विदेश जानेको संख्या १७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतको अवस्थामा रहेको छ । अघिल्लो वर्षको सोही समयमा शोधान्तर स्थिति २६ अर्ब ६५ करोड मात्रै रहेको थियो । पछिल्लो ६ महिनामा चालु खाता भने ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । मुलुकभित्र पनि आर्थिक कारोबार सोचेको भन्दा राम्रो रहेको कारण मुलुकको आर्थिक अवस्था सकारात्मक नै रहेको पनि सरकारले दाबी गर्दै आएको छ । मुलुकमा रहेको स्थिर सरकार पार्टी आफ्नै आन्तरिक कारणले विघटन हुने अवस्थामा पुगे पनि आर्थिक परिसूचक भने सकारात्मक देखिँदै जानुले जनतामा भने उत्साह पैदा भएको देखिन्छ । मुलुकमा देखिएको अस्थिर अवस्थामा राष्ट्र बैंकले जारी गरेको आर्थिक परिसूचक सकारात्मक देखिनुलाई उत्साहका रुपमा नै लिनुपर्ने हुन्छ ।

नेपालमा विदेशी लगानीमैत्री वातावरण नहुदा बाह्य पुँजी आकर्षित हुन सकेको देखिँदैन । चालु आर्थिक वर्षको ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी ३७ प्रतिशतले घटेको देखिन्छ । सरकारले नेपालमा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे पनि मुलुकको पछिल्लो राजनीतिक अवस्थाका कारण लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्साहित नहुनुले पनि नेपालबाट कामको खोजीका लागि विश्वका विभिन्न मुलुकमा जानुपर्ने बाध्यता बढ्दै गएको छ । त्यस कारण राज्यले लगानीमैत्री वातावरण बनाउन सके मात्र मुलुक समिद्धितर्फ उन्मुख हुनसक्छ । नेपालभित्रै रोजगानीको अवस्था सिर्जना गरे मात्रै लाखौंको संख्यामा विदेश जाने नेपाली युवालाई रोक्न सकिन्छ ।

नेपालमा अहिले विदेशबाट आउने विप्रेषण आप्रवाहले मात्रै आर्थिकरुपमा मुलुक सबल रहेको देखाएको छ । यो स्थायी समाधान होइन । संसारभर कोरोनाको महामारीजस्तै अन्य रोग फैलियो भने नेपालीहरु कामका लागि विदेश जाने कामसमेत रोकिने र आर्थिकरुपमा मुलुक कमजोर हुँदै जाने निश्चित छ । नेपालमा नै राजगारीको अवस्था सिर्जना गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । तर दुर्भाग्य, सरकार र ठूला राजनीतिक दलको ध्यान यतिखेर विभाजन र निर्वाचनतिर लागेको छ, मुलुकको समृद्धिका लागि दीर्घकालीन सोचको अनिकाल लागेको छ ।