नेपाल समाचारपत्र, काठमाडौं ।
विश्वमै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माउनुभएको छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवं ल्याप्रस्कोपिक सर्जन डा. नूतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षीया निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराउनुभएको हो ।
पहिलो र दोस्रोपटक प्रसूतिगृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहोराको तेस्रोपटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेस्रोपटक बच्चा जन्माउँदा पनि डा. शर्माले नै बोहोराको शल्यक्रिया गर्नुभएको थियो ।सामान्यतः एकपटक शल्यक्रियामार्फत प्रसूति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काेपटक पनि सिजरिङबाट नै प्रसूति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाइ छ ।‘मलाई चौथोपटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुसी छु । दुई पटकसम्मको खेर गएको थियो’, बोहोराले भन्नुभयो– ‘तेस्रो पटक बच्चा भएपछि मलाई हुदैन भन्ने लागेको थियो । डा. नूतनको मिहिनेतले मैले दुई सन्तान पाएँ । उहाँ मेरा लागि भगवान् जस्तै हुनुभएको छ ।’
चौथोपटक सिजरिङ गरेर बच्चा जन्मिनु दुर्लभ घटना रहेको डा. नूतन शर्माको भनाइ छ । ‘सामान्यतया नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रसूति गराउदँछौं। डा. शर्माले भन्नुहुन्छ । तर तेस्रोपटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने गलत मान्यतालाई हामीले सम्भव बनाएका छौं ।
‘दुईवटा बच्चा खेर गएपछि तीन वर्षअघि उहाँ बच्चा जन्माउने योजना लिएर आउनुभएको थियो । उहाँको तेस्रो बच्चा सफलतापूर्वक जन्मियो । उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो’, डा. शर्माले भन्नुभयो– ‘सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यसभन्दा पनि बढी हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’ अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र दुवै जनालाई केही दिनमा डिस्जार्च गरिने डा. शर्माले बताउनुभयो ।











प्रतिक्रिया