डोटी कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

0
Shares

डोटी, (नेस) ।

जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोना बिरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जिवन यापन गरिरहेका ५० जना कैदी बन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामकर्मीलाई उक्त खोप लगाइएको हो ।

कारागारमा सुरक्षाकर्मी र कैदी बन्दी गरी टोटल ८४ जना राखिएको भएपनि ४ जना कैदीबन्दीहरुले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेका थियौँ, तर ४ जना बन्दीले लगाउन मान्नु भएन हामी अरुलाई लगाएर फर्कियौँ, उनीहरुलाइ पनि लगाउन आग्रह गरीरहेका छौँ ।”

पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रण्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारी लगायतकालाई उक्त खोप लगाउने योजना अनुसार कैदी बन्दी सहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन सुरु गरीएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले यहाँका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पनि पालै–पालो खोप लगाउँने काम सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । कम्तिमा पनि ६ दिन भित्रमा पहिलो चरणको खोप लागाइ सकिने योजना भए पनि उक्त म्याद दुई दिनका लागि थप गरिएको छ ।