हामी कहाँ छौँ ?


वीणा झा

समाज परिवर्तनशील छ, जसका विभिन्न बाह्य र भित्री कारणहरु हुन्छन् । ती कारणहरुको प्रभावलाई पूर्णतः रोक्न सकिन्न । त्यसैले जसो–जसो सामाजिक संरचना र सम्बन्धहरुसरलबाट जटिल बन्दै जान्छन् त्यसै गरी त्यसका कार्यशैली पनि परिवर्तन गरिँदै जानुपर्छ । किनकि यदि परिवर्तनसँगसँगै हिँड्न सकेनभने अस्तित्व संघर्षको संकट हुने सम्भावना बढ्छ । आजको २१ औं शताब्दीमा जहाँ प्रविधि विकासका कारण विश्व एक गाउँजस्तो नजिकिएको छ र एक ठाउँको परिवर्तनको असर अर्को ठाउँमा तुरुन्तै परेको देखिन्छ, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक ।

त्यस्तै गरी विगतमा स्थापित सोच र मान्यताहरु पनि समयअनुसार परिमार्जन र परिवर्तन हुँदै जान्छ वा भनौं गरिँदै लगिन्छ । जस्तो कि हिजोको दिनमाजहाँ जात,धर्म,लिंग र क्षेत्रका आधारमाजन्मजात पाएका अधिकारहरु बलियो मानिन्थ्यो भने अब ती बिस्तारै खुइलिँदै गएको र कर्मको आधारमा पाएका उपलब्धिहरुले स्थान र सम्मान पाउँदै गएको देखिन्छ । त्यस्तै खुलेर कुरा गर्नसमेत वर्जित रहेको समाजमा, त्यस बेला मञ्चमा उभिएर माइक समाती वा जोडजोडले बोल्न सक्नेलाई कति अदम्य साहस भएको नेता भनी समाजले पत्याउँथ्यो ।समयको परिवर्तनसँगै बिस्तारै सोचहरु पनि परिवर्तित हुँदै आए । पच्छिल्लो समयमा, बोल्ने मात्रै होइन के बोल्दैछन् भनी महत्व राख्न थालियो । अहिलेको समयमा बोलाइ मात्रै काफी भएन तिनका भिजन, आचरण, कार्यशैली र तिनले ल्याएका परिणामहरुका आधारमा मात्रै नेता मानिने सोचहरु विकसित हुँदै गएको छ । किनकि सूचनाका विभिन्न स्रोत अनि प्रविधिमाथिका पहुँचका कारण एक सर्वसाधारणले आफ्ना नेताका भनाइ र गराइबीचतुलना गर्न थाले । अब हरेक सूचना र जानकारीका लागि उक्त नेताका भनाइ कुर्नुपर्ने अवस्था रहेन ।

यी परिवर्तनहरु यति छिटो–छिटोआए कि अधिकांश नेतृत्व तहमा बसेकाहरु ती परिवर्तनहरुसँग चालमा चाल मिलाउँदै हिँड्न सकेनन् । अहिलेको अवस्थामा नागरिक तहका सोच र नेतृत्व तहका कार्यशैलीबीचको ठूलो खाडल देखिनुको पछाडि यो पनि एक महत्वपूर्ण कारण हो । उदाहरणको रुपमा वर्तमान नेतृत्व तह अझै पनि भीडको राजनीति, निषेधको राजनीति, डरको राजनीतितर्फ उन्मुख छभने सचेत नागरिक समूहलेती सबै आउटडेटेड हथकण्डाको रुपमा महसुस गर्दैछन् ।नागरिकलाई नियन्त्रण गरेर भन्दा पनि तिनलाई सशक्तीकरण गर्दै गरिने राजनीति आजको आवश्यकता हो भनी बुझेका छन् ।अहिले समाजमा एक संसयको अवस्था सिर्जना भएको देखिन्छ, जसको कारण निराशा, हिंसा र द्वन्द्व फैलिने सम्भावना बढ्छ ।

मुलुक असफल नेतृत्वको सिकारभएको अवस्थामा सर्वसाधारण नागरिक अन्योलमा छन् र तिनका मनमा विभिन्न प्रश्नहरुको ज्वारभाटा आएको छ । आफैंले चुनेकानेताहरुले लिखित दस्ताबेजमै एक–अर्काका नाङ्गो चित्र र चरित्र कोरिदिँदा, नागरिक समाज जीर्ण अवस्थामा रहेको संकेत देखिँदा यसले मुलुकलाई कता डो-याउने हो भनी चिन्ता र त्रासतिनको मनमा छ ।नेतृत्व तहको शब्द, शैली र प्रस्तुतिप्रति विक्षुब्ध छन् अनि नागरिक समाजको निष्कृयताप्रति निराश पनि छन् । आ–आफ्ना विशिस्टता प्रस्तुत गर्ने क्रममा हिजो गरिएका निर्वाचनमा धाँधलीका विषय होस् वा पद र शक्तिको बाँडफाँड र सहमतिका प्रसंग, यसले उब्जिएको प्रश्न जिम्मेवार तह र निकायले के हेरेर बस्यो? अब उप्रान्त राज्यका ती संरचनाहरुप्रति विश्वास गर्ने कि नगर्ने ? यदि धरातलमा अहिलेको यो अवस्था नआउँदो हो भने यसरी नै विवेकशून्य भई नेतृत्व गरिरहेका हुन्थे त ?मुलुकलाई माया गर्ने समूहको खडेरी नै परेको हो ?

यीपीडादायी प्रश्नहरु हुन्, जुन भुइँमान्छेहरुका मनमा प्रत्येक क्षण घोचिरहेको छ । ती भुइँमान्छे जो आफूले आर्जन गरेको आम्दानीबाट मात्रै होइन बाँच्नका लागि गरिएकाआवश्यकताको परिपूर्तिबाट समेत राज्यकोषमा इमानदारीपूर्वक योगदान गर्दैछन् । यहाँसम्म कि राज्यलाई मलमूत्र शुल्कसमेत बुझाउन बाध्य छन् । जबकि तिनका पीडा रसमस्याजस्ताविषयहरु नेतृत्व तहका छलफलमा प्राथमिकतामा नपरेकोयथेष्ट उदाहरणहरु छताछुल्ल अवस्थामा भेटिन्छन् ।आजको दिनमा जहाँ विश्वमानवअधिकारलाई अन्तर्राष्ट्रिय अधिकारको रुपमा सम्मान गर्न अग्रसर छ भने हामी कहाँ छौँ भन्ने प्रश्न हाम्रा नेतृत्व तहका मनमा उब्जिनुपर्ने हो । विश्वका विभिन्न पछिल्ला राजनीतिक परिवर्तनहरुलाई नियाल्ने हो भने यसले गरेको संकेत नागरिक सार्वभौमिकतातर्फ नै केन्द्रित रहेको देखिन्छ । यस्तोमा हाम्रा विधि,पद्धति अनि कार्यशैली नागरिक केन्द्रित छन् नि छैनन् ? के गर्दा सर्वसाधारण नागरिकको सम्मानपूर्वक सुरक्षित जीवनको सुनिश्चितता गर्न सकिन्छ । त्य

सका लागि कहाँ के–कस्ता परिमार्जन वा परिवर्तनहरु आवश्यक छ ? भन्ने अहम् प्रश्न हो । साथै राज्यलाई विषम परिस्थितिबाट निकाल्न नागरिक समाज, बुद्धिजीवी र मिडियाको अहम् भूमिकालाई पनि यो प्रश्न त्यत्तिकै सान्दर्भिक छ । विचारहरुको निर्माणदेखि लिएर वितरणसम्मको प्रक्रियाकसरी चल्दै छर यसले समाजमा कस्तो खालको प्रभाव पर्छ भनी सोच्नुपर्ने विषयहरु हुन् । कुनै व्यक्ति वा समूहको लाभको लोभले मुलुकलाई अहित गर्ने कि आफूले आफैंलाई सोध्ने ‘हामी कहाँ छौँ ?’ यो यक्षप्रश्नको रुपमा उभिएको छ ।अदालतमा प्रवेश गरिसकेको विषयमा सर्वसाधारण नागरिकले केही नबोले पनि तिनको मनमा केहीप्रश्नहरु टड्कारोरुपमारहेको देखिन्छ।प्रतिनिधिसभा पुनस्र्थापना भयो भने के हुन्छ, तिनै पात्रका तिनै प्रवृत्तिहरु दोहोरिनुबाहेक मुलुक र नागरिकले के पाउँछन्? त्यस्तै स्वयं प्रधानमन्त्रीबाट उजागर गरिएकानिर्वाचन आयोगका विगतका कार्यशैलीबारे सुनिरहँदायदि मुलुकलाईनिर्वाचनमा लगियो भने हिजोका बेथितिहरु पुनः नदोहोरिएलान् भनी कसरी विश्वस्त हुने ? अर्थात् समाजका पिँधमा रहेका बहुसंख्यक सर्वसाधारण राज्यका नीति–नियम र कार्यशैलीमा कहाँ पर्छन्?

त्यसै गरी विभिन्न माध्यमहरुमा सुनिने आफ्ना नेताहरुका भनाइ अनि एक सर्वसाधारण नागरिकको दैनिक भोगाइहरुबीच तारतम्य मिलेको महसुस गर्न सकिएको छैन । विभिन्न सभा, जुलुस, बन्द सबै कुरा नागरिककै लागि हो भनी सुनिरहँदा आफू कहाँ छु भनी खोज्न थालेका समुदायको संख्या दिनानुदिन बढ्दै छ ।राज्यका हरेक नीति नियम जहिले पनि सर्वसाधारणका हितअनुरुप हुनुपर्छ भनी सैद्धान्तिक मान्यता रहेको हुन्छर त्यसैको वकालत नागरिक समाजले पनि गर्छन् भनी विश्वास गरिन्छ । राज्यको औजार भनेको सरकार हो, त्यसको विभिन्न निकाय र संरचनालाई प्रयोग गर्दैनागरिकको हक–अधिकारको सुनिश्चितता र मुलुकको समृद्धिको लागि राज्यले कार्य गर्छ । त्यसैले ती संरचना र निकायहरु स्वस्थ, सक्षम र कुशल बनाउन अनिवार्य हुन्छ, जसले प्रक्रियाभन्दा पनि परिणाम दिन सकोस् । प्रक्रियाको पनि आफ्नै महत्व छ तर समयसापेक्ष परिणाम दिन नसक्ने प्रक्रियाहरु परिमार्जन र परिवर्तनसमेत गरिनु आवश्यक हुन्छ । किनकि मूल विषय भनेको परिणाम नै हो, चाहे त्यसको लागि बक्सबाहिर रहेर सोच्न किन नपरोस् ।

आजको समयमा पनि सडक जाम गरेर, बन्दको आयोजना गरेर, समाज टुक्य्राउने, उत्तेजना फैलाउने, घृणा उब्जाउनेजस्ता विभिन्न अभिव्यक्ति दिएर, नागरिकका दैनिकी कठिन बनाएर, भीडको आधारमा आफ्नो शक्ति प्रदर्शन गरिरहँदा ती सम्पूर्ण मस्तिष्कहरुले सोच्नुपर्ने प्रश्न ‘२१औं शताब्दीमा पुगिसकेका हामी अझै कहाँ छौँ ? के गर्दै छौँ? कसका लागि राजनीति गर्दैछौँ?त्यस्तै गरी राजनीतिक विषयले मात्रै ध्यान आकृष्ट गर्न सक्ने नागरिक समाजलाई किसानका पीडा, सर्वसाधारणका सरोकारका विषयहरु शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र सम्मानजस्ता विविध विषयहरुले छुन नसक्दा र सम्पूर्ण नेपालीमाझ साझापनको अनुभूति गराई अभिभावकत्वको छवि निर्माण गर्न नसकेको अवस्थामा मनमा उब्जिनुपर्ने प्रश्न उही हो ‘हामी कहाँ छौँ ?’ । व्यक्तिगत आस्था, विश्वास र विवशताको आधारमा निर्मित आबद्धताहरु हुनु मानवीय स्वभाव हो तर त्यसभित्र जो जहाँ भए पनि मुटुमा त नेपाल र नेपाली नै हुनुपर्छ । त्यसैले ती आबद्धतालाई एकछिन् पर राखेर अवस्थाहरुको विश्लेषण गर्दै त्यसमा हाम्रो समाजको हित कहाँ छ भनेर खोतल्नु र विश्लेषण गर्नु आवश्यक छ ।

वर्तमान विषम परिस्थितिको सिर्जना हुनुमा हामी कहाँ छौँ भन्ने प्रश्न हामी सबैको लागि पनि उत्तिकै महत्वपूर्ण छ । सबभन्दा प्रमुख विषय भनेको नागरिक र मुलुक हो । नागरिकका स्वतन्त्रता, सुखी, सम्मानितर सुरक्षित जीवन, सुनिश्चित भविष्यले नै मुलुकको समृद्धि निर्धारण गर्छ । त्यसैले राज्यकाहरेक संरचना, नीति नियम र कार्यशैली यसैको अनुरुप हुनुपर्छ, चाहे कुनै प्रक्रिया, पद्धति वा संरचना परिमार्जन र परिवर्तन नै किन गर्न नपरोस् । लक्ष्य भनेको उही हुनुपर्छ र त्यसको लागि यो प्रश्न महत्वपूर्ण छ कि ‘हामी कहाँ छौँ ?’