सेनाकाे सहयाेगमा घरघरमा बने खानेपानीका धारा



दुर्गाप्रसाद शर्मा, पर्वत । नेपाली सेना केवलजंग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङको ओखलढुंगा बस्तीमा खानेपानी आयोजना निर्माण गरिएको छ ।स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुंगा बासीहरुका लागि करिव २ महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

निर्माण सम्पन्न खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतनाका पृतनापति विनय विक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ ।नेपाली सेनाको १० लाख र मोदी गाउँपालिका २ लाख गरी १२ लाखको लागत तथा १ लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको केवलजंग गुल्मले जनाएको छ । उक्त आयोजनाबाट मोदी गाउँपालिका ५ बाजुङ ओखलढुंगा गाउँका २२ परिवार सहित १ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने भएका छन् । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुंगाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् ।

खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुई वटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सवै परिवारले उपभोग गर्दै आएकोमा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयबासीहरुलाई राहतको महसुस भएको स्थानीयबासी कृष्णबहादुर क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा पृतनापति राणाले नेपाली सेना सदैव जनताको साथमा रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समाजमा प्रभावपर्ने कार्यहरु सेनाले सञ्चालन गर्दै आएको कुरा स्पष्ट पार्नुभयो ।मोदी गाउँपालिका पर्वतका अध्यक्ष प्रेम पौडेलले नेपाली सेनाको सामाजिक सेवा भाव प्रतिको जागरुकताको कदर गर्दै साँच्चिकै समस्यामा परेका नागरिकलाई सेनाले सदैव सहयोगी भाव दर्शाउन समेत अनुरोध गर्नुभएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले समेत नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । समुदायको माग बमोजिम नेपाली सेना र समुदायको सक्रियता सँगै मोदी गाउँपालिकाको समन्वयमा खानेपानी आयोजना समयमा नै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको केवल जंग गुल्म पर्वतका गुल्मपति रमेश थापाले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्