कतारका सबै नेपालीलाई खोप

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

कतार सरकारले त्यहाँ रहेका सम्पूर्ण आप्रवासी नेपालीलाई सन् २०२१ अन्त्यसम्ममा कोरोनाविरुद्ध खोप निःशुल्क वितरण गर्ने जनाएको छ । कतारको स्वास्थ्य मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै त्यहा“ बसोबास गर्ने सबैलाई चार चरणमा कोरोनाविरुद्ध खोप लगाइसक्ने जनाएको हो ।

कतारमा संक्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक छन् । कतार सरकारले खोप ल्याएस“गै कतारमा रहेका नेपालीले पनि चरणबद्धरूपमा खोप लगाउन पाउनेछन् । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत छन् ।

कतारले पहिलो चरणमा ९ डिसेम्बर २०२० देखि ३१ मार्च २०२१ सम्म कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाइ कर्मचारी, प्रमुख कर्मचारी, एम्बुलेन्स टिम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज, ७० वर्षभन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु, भाइरसबाट जोखिम भएका दीर्घकालीन रोग भएका वयश्क, ५० देखि ६९ उमेर समूहका मानिस, अन्य स्वास्थ्यकर्मी, आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारीलाई निःशुल्क खोप वितरण गरिने जनाएको छ ।

अप्रिल १ देखि जुन ३०, २०२१ सम्म दोस्रो चरणमा पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मी, भाइरसबाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदार, खाना, हाउसकिपिङ, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदार, बाँकी शिक्षा क्षेत्रका कर्मचारी, पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्ति, ४० वर्षभन्दा माथिका व्यक्तिलाई खोप वितरण गरिने त्यहाँबाट हेटौंडाका सञ्चारकर्मी अनिल पराजुलीले बताउनुभएको हो ।

जुन १ देखि जुलाई ३१ २०२१ सम्म तेस्रो चरणमा युवा तथा बालबालिका (बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि), पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरुलाई खोप वितरण गरिनेछ ।

अगस्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म चौथो चरण पहिलो, दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिलाई खोप वितरण गरिने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा कोरोना खोप शुरु भएदेखि हालसम्म ५० हजारले खोप लगाएका छन् । खोप लगाउन ९० हजारभन्दा बढीले नाम दर्ता गराएको कतारबाट प्रकाशित क्यूएन खबरले जनाएको छ । कतारमा कोरोना भाइरसविरुद्ध पहिलो खोप कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा. अब्दुल्लाह अल कुबैसीलाई लगाइएको थियो । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिनलाई कतार सरकारले प्रयोगमा ल्याएको थियो ।

गत सातादेखि संक्रमितको उल्लेखनीय वृद्धिले कतारमा भाइरसको दोस्रो लहर सुरु हुनसक्ने देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५० हजार ६ सय २१ पुगेको छ । मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ भने करिब १ लाख ४५ हजार ५ सय ५६ संक्रमणमुक्त भएका छन् ।