विज्ञान प्रविधिको युग



भनिन्छ, विज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरु हुने थिएनन् । प्रविधि भनेको अतृप्त मनहरुले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्बन्धित अध्ययन अथवा विज्ञानको समूह हो ।

आदिमकालदेखि नै मानवले प्रविधिको प्रयोग गर्दै आएको थियो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन देशहरु प्राविधिक हिसाबले शक्तिशाली छन् तिनीहरू नै सामरिक र आर्थिक हिसाबमा शक्तिशाली र अरुभन्दा सक्षम पनि छन् ।

आजको युग भनेको प्रविधिको युग हो । समयानुकूल प्रविधिको विकास तथा उपभोग गर्ने देशहरूको शैक्षिकलगायत आर्थिक तथा सामाजिक क्षेत्रमा पनि प्रगति भएको देखिन्छ । विकसित मुलुक र विकासशील राष्ट्रबीच प्रविधिको उपयोगको अवस्था ज्यादै भिन्न देखिन्छ ।

व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन, सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र सञ्चार प्रविधिमा पहुँच हुने र नहुनेबीचको खाडल कम गर्न र निरन्तर तथा जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्न सूचना र प्रविधिको उपयोग हुनु जरुरी भएको छ । प्रविधिको उपयोगले विश्वलाई साँघु-याउँदै लगेर एउटा भूमण्डलीय ग्रामका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ ।

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान एक व्यवस्थित ज्ञान हो, जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य व्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो । विज्ञान मनुष्य जातिको साझा सम्पदा हो ।

विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।

विज्ञानमा वैज्ञानिकहरुले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै ग-यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरु भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।

– कमल कोइराला, कलंकी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्