बुद्धिजीवी विचार मञ्च रूपन्देहीको ठहर : ‘नेकपा भित्रको विवाद कम्युनिस्ट राजनीतिको दाहसंस्कार’

0
Shares

यमलाल भुसाल, बुटवल ।

बु्द्धिजीवी विचार मञ्च, रूपन्देहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको हालको विवाद र विभाजनमा कुनै नीतिगत र सैद्धान्तिक आधार नभएको ठहर गरेको छ । पार्टीको विवाद केवल कम्युनिस्ट राजनीतिको दाहसंस्कार तर्फ उद्यत भएको जिकिर पनि गरिएको छ ।
नेकपाको नेतृत्व तहमा रहेका केपी ओली समूह र प्रचण्ड–माधव समूह दुबैको व्यक्तिगत स्वार्थ,अहङ्कार र पदीय अस्तित्वको लडाइँले नेपाली नागरिकका चाहना र आस्था माथि निर्मम प्रहार गरेको पनि मञ्चले बताएको छ ।

मञ्चका अध्यक्ष हरि ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पदीय अस्तित्व र स्वार्थपूर्ण विवादका कुनै पनि समूहको अभियानमा सचेत नागरिक संलग्न हुन उपयुक्त नहुने उल्लेख गर्दै दुबै समूहलाई आआफ्ना गुटगत स्वार्थ छोडेर मुलुक र जनताको सेवामा लाग्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा वर्तमान गालीगलौजपूर्ण राजनीति तुरुन्त रोक्न आह्वान गर्दै नेपालमा कम्युनिस्ट पार्टीको सैद्धान्तिक पुनर्जागरण र पुर्नगठनको आवश्यकता समेत औंँल्याइएको छ ।

जनताले ठूलो विश्वास गरेर तीनै तहका सरकारमा करिब दुई तिहाइ मत दिएको कम्युनिस्ट पार्टीको नेतृत्वमा हाल देखिएकोे स्वार्थगत विवाद, आरोप–प्रत्यारोप र गुटगत गतिविधिले नेपालका कम्युनिस्टहरूलाई मात्र कलंकित र आलोचित बनाएको छैन,अपितु मुलुकको समग्र विकास,समृद्धि र राजनीतिक संस्कारमा समेत नकारात्मक असर पारिरहेको छ । दुबै समूहका नेतामा पलाएकोे हदैसम्मको अहमता,संवेदनहीनता,अदूरदर्शिता र कर्तुतले कम्युनिस्ट पार्टी कुनै पनि कोणबाट राजनीतिक पार्टीजस्तो लाग्दैन । तसर्थ पुनर्जागरणसहितको पार्टी पुनर्गठन जरूरी भएको छ ।’

विज्ञप्तिमा कुनै समय आदर्श मानिएका शीर्ष नेताहरू खलपात्रका रूपमा परिणत हुँदैछन् र उनीहरू नै यतिखेर कम्युनिस्ट राजनीतिको “दाहसंस्कार“तर्फ उद्यत रहेको अवस्था छ ।’

‘गरिब,किसान,सर्वहारा र मजदुर वर्गको नाममा राजनीति गर्ने कम्युनिस्टहरू नै यतिखेर शोषक,नवसामन्त, दलाल पुँजीपति र नवकुलीन वर्गमा परिणत हुँदै गएको’ आरोप लगाउँदै विज्ञप्तिमा ‘पाँच वर्षका लागि नेपाली जनताले दिएको करिब दुई तिहाइको अभिमत र विश्वास तीन वर्षमै समाप्त पारिनु जनतामाथि घात र निर्मम प्रहार भएको’ उल्लेख छ ।

विज्ञप्तिको अन्तमा नेताहरूलाई आआफ्ना गल्ती र कमजोरीहरू सच्याउँदैै एकजुट हुन र जनसरोकारका विषयमा केन्द्रित हुन आह्वान गरिएको छ ।

मञ्चले दुवै पक्षलाई सही मार्गमा ल्याउन दवावमूलक अभियान पनि सञ्चालन गर्ने बताउँदै सोका लागि सबै पक्षबाट सकारात्मक पहलको अपेक्षा पनि गरेको छ ।बुद्धिजीवी विचार मञ्च वाम विचारको साझा मञ्च मानिन्छ ।