रक्सौल डिपोबाट इन्धनको आयात बन्द

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

सुरक्षाको कारण देखाउदै भारतको रक्सौलमा रहेको इन्धनको डिपो इण्डियन आयल कर्पोरेशनले (आइओसी) बन्द गरेको छ ।

आइओसीले दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

डिपो बन्द गर्ने निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयमा खरिदको व्यवस्था मिलाएको प्रदेश नम्बर २ को निगमको अमलेखगन्ज स्थित कार्यालयले जनाएको छ । निगमका अनुसार यसअघि रक्सौल नाकाबाट लोड लिइ निगमको वीरगन्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने हुन्छ ।

निगमले लागू गरेको नयाँ व्यवस्थाका सम्बन्धमा केही अन्योल उत्पन्न भएपछि निगमको केन्द्रीय कार्यालय बबरमहलबाट गएको टोली र बारारपर्सा पेट्रोलियम डिलर्स एशोसिएसन तथा स्थानीय प्रशासनबीच छलफलसमेत गरिएको थियो । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म अथवा इण्डियन आयल कर्पोरेशनले मोतिहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने जनाइएको छ ।

गएको डिसेम्बरमा अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटरभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमले जनाएको छ ।रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एशोसियसनको समन्वयमा प्रदेश नं २ प्रादेशिक कार्यालयबाट खरीद गर्ने सहमति भइसकेको र आफूहरुले त्यसै अनुसार सोमबारबाट नै इन्धनको लोडअनलोड गरिरहेको नेपाल पेट्रोलियम पदार्थ एशोसिएन पर्साका अध्यक्ष बिनोद चौरसियाले बताउनुभयो ।