डा. मास्केको निधन

14
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्वउपकुलपति एवं युरो सर्जन डा. सीपी मास्केको कोरोना संक्रमणका कारण निधन भएको छ ।कोरोना संक्रमणपछि उपचाररत डा. मास्केको शनिबार राति १ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो ।

७९ वर्षीय डा. मास्के मिर्गौला र मुटु रोगका कारण लामो समयदेखि उपचार गराइरहनुभएको थियो । डा. मास्केकी श्रीमती डा. ज्योत्स्ना मास्केको पनि केही समयअघि मात्रै निधन भएको थियो । परिवारै चिकित्सा पेसामा आबद्ध उहाँका छोरा र बुहारी पनि चकित्सक हुनुहुन्छ ।

उहाँ नेपालका लागि मूत्रप्रणालीसम्बन्धी रोगको उपचार शुरु गर्ने प्रथम चर्चित चिकित्सक हुनुहुन्थ्यो ।डा. मास्के त्रिवि शिक्षण अस्पताल, पाटन अस्पतालमा समेत युरो सर्जरी सेवालाई विस्तार गर्ने चिकित्सकका रुपमा चिनिनुहुन्छ । उहाँ केही समयअघि शल्यचिकित्सकहरुको साझा संस्था नेपाल असोसियासन अफ युरोलोजिकल सर्जनद्वारा सम्मानित हुनुभएको थियो ।

डा. मास्केले मूत्रनलीको उपचारका लागि काठमाडौं उपत्यकाबाहिरका जिल्लामा समेत सर्जरी सेवा विस्तारमा उल्लेखनीय योगदान गर्नुभएको न्याम्सले जनाएको छ । मास्के सर्जरी विधाका साथै प्राध्यापन क्षेत्रमा पनि अब्बल भएको त्रिवि शिक्षण अस्पतालमा सहकर्मीका रुपमा काम गर्नुभएका प्राडा भोला जोशी बताउनुहुन्छ ।

उहाँलाई युरोलोजिस्टहरू गम्भीर विषयवस्तु पनि ठट्यौली शैलीमा सिकाउनसक्ने चिकित्सकका रूपमा चिन्थे । डा. जोशी भन्नुहुन्छ– ‘डा. मास्के नेपालकै वरिष्ठ चिकित्सक भएर पनि उहाँमा न सफलताको उन्माद थियो न वरिष्ठताको दम्भ । सबैप्रति उहाँको अत्यन्तै नम्र व्यवहार थियो ।’