कांग्रेसको विरोध प्रचार गर्ने अटोमा आगजनी

0
Shares

हेटौंडा, (नेस)

मकवानपुरको मनहरी–३ पाल्दमारमा स्थानीय राजु रानाभाटले घरअगाडि पार्किङ गरेर राखेको ना२ह ४०५० नम्बरको अटोमा शुक्रबार राति अज्ञात समूहले आगजनी गर्दा अटो पूर्णरूपमा जलेर नष्ट भएको छ । नेपाली कांग्रेसको विरोध कार्यक्रम प्रचारका लागि प्रयोग गरिएको अटोमा आगजनी भएको हो ।

पाल्दमारमा नेपाली कांग्रेसको विरोध कार्यक्रमको प्रचारका लागि प्रयोग गरिएको अटोमा मकवानपुर आगजनी भएका प्रहरीले जनाएको छ । त्यस्तै, आगजनीप्रति नेपाली कांग्रेस मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार राति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘लोकतन्त्रमा सबैलाई आफ्नो अभिव्यक्ति दिने, विरोध प्रदर्शन गरी सरकारका गलत कामविरुद्ध खबरदारी गर्ने अधिकार संविधानले नै सुरक्षित गरेको अवस्थामा प्रचारप्रसारका लागि प्रयोग भएको अटोमाथि राति कायरतापूर्ण ढंगले आगजनी गरिएकोमा नेपाली कांग्रेस मकवानपुर घोर भत्सर्ना गर्दछ ।’

सरकार आफ्नो मूल दायित्वबाट विचलित भइरहेको अवस्थामा भएको यस्तो घटनाले असुरक्षा र अशान्तिको अवस्था सिर्जना गरेकाले घटनामा संलग्नको यथाशीघ्र पहिचान गरी कारबाहीका लागि नेपाली कांग्रेस मकवानपुरले माग गरेको छ ।
विज्ञप्तिमार्फत शान्तिसुरक्षा र अमनचयन कायम गर्नेतर्फ प्रहरी प्रशासनलाई चनाखो रहन तथा आगामी दिनमा जनताको जनधनको सुरक्षामा गम्भीर हुनसमेत सचेत गराइएको छ ।