भोलि पल्ट बोल्छु, म मौन होइन : नेम्वाङ

0
Shares

काठमाडौं, (नेस)

प्रतिनिधिसभा विघटनको विषयमा अहिले नबोल्ने नेकपाका स्थायी समिति सदस्य एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले आफ्नो पुरानै अडान दोहो¥याउनुभएको छ । संविधानमा संसद् विघटन गर्ने अधिकार नरहेको विषयमा नेम्वाङले बोलेको भिडियो भाइरल भइरहेका बेला उहाँले सर्वोच्च अदातलमा विचाराधीन विषयमा अहिले नबोल्ने बताउनुभएको हो ।

नेकपा ओली समूह प्रदेश नम्बर १ को भेलालाई राजधानीमा शनिबार सम्बोधन गर्दै नेता नेम्वाङले संसद् विघटन गर्नु प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम भएको दाबी गर्नुभयो । ‘हामीले स्थिरता र देशलाई समृद्ध बनाउनका लागि काम गरे पनि पार्टीभित्रैबाट त्यो पाच्य भएन।’ –उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्ष दलका नेतालाई प्रधानमन्त्री स्वीकार गर्ने प्रचण्ड–नेपाल पक्षको प्रस्तावप्रति लक्षित गर्दै नेम्वाङले भन्नुभयो– ‘के प्रधानमन्त्री ओलीलाई अस्वीकार गर्न खोजिएको हो? देशले त्यसको जवाफ खोजिरहेको छ ।’ पार्टीको प्रथम अध्यक्ष ओली र पार्टीको महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक हुने बताउँदै निर्वाचन आयोगले आफूलाई नै वैधानिकता दिने दाबी गर्नुभयो ।

निर्वाचन आयोगमा अहिले आधिकारिकताको विषयमाथि छलफल भइरहेको बताउँदै छिट्टै अहिलेको विवादको टुंगो लाग्ने उहाँले बताउनुभयो । निर्वाचनको मिति घोषणा भए पनि अहिलेको सरकारले महत्वपूर्ण निर्णय गरेर अगाडि बढ्न पाउने संविधानमै व्यवस्था गरिएको बताउँदै नेम्वाङले भन्नुभयो– ‘अर्को सरकार नबान्दासम्म यही मन्त्रिपरिषद्ले नै सबै निर्णय गर्न पाउँछ, काम चलाउको प्रश्न संविधानमा उठाइएको छैन, मैले बुझेको छैन, म अलिअलि लाटो लाटो छु ।’

संविधानअनुसार सरकारले सबै कुरा गर्न सक्ने बताउँदै निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि भने कतिपय काममा रोक लगाउने बताउनुभयो । संसद् विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि अब संवैधानिक इजलासले नै हेर्ने गरी टुंगो लागेको र अब लगातार सुनवाइ गरेर छिट्टै टुंगो लाग्ने बताउँदै नेम्वाङले भन्नुभयो– ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि प्रधानमन्त्रीले बोल्न सक्नुहुन्छ ।’

‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि मेरो धेरै भन्नु छैन । के कारणले संसद् विघटन गरेको हो? अब के ठीक हो सर्वोच्चले फैसला गर्छ । यो सरकारले वैशाखमा निर्वाचन गर्दैन भनेर सर्वोच्चलाई दबाब दिने गरिएको विज्ञको टिपप्णी मेरो आरोप होइन।’ –नेम्वाङले भन्नुभयो ।

‘विश्वकै अनुभव लिएर नेपालमा संविधान निर्माण ग-यौं, सर्वोच्च अदालतमा मुद्दा परेपछि खुब माया गरेर मैले बोलेको भिडियो भाइरल बनाइदिनुभएछ, मैले बोलेको कुराहरु त्यो भिडियोमा छ’, उहाँले भन्नुभयो– ‘मैले बोलेका कुरा राखिएका छन् । तर अहिले प्रसंग अर्को छ । प्रश्नहरु अदालतमा विचाराधीन छन्, सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बोल्छु, म मौन होइन । सर्वोच्च अदालतले चाँडै निर्णय गर्ला ।’