आन्दोलन चर्काउने रणनीति बनाउँदै प्रचण्ड–नेपाल समूह

0
Shares

काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले प्रतिनिनिधिसभा पुनस्र्थापना गर्नका लागि आन्दोलनलाई थप सशक्त बनाएर अगाडि बढ्ने रणनीति बनाउने भएको छ । दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहले आन्दोलनबाटै संसद् पुनस्र्थापना गर्ने गरी आन्दोलन चर्काउने रणनीति बनाउन लागेको हो ।

विहीबार पेरिडाँडामा बसेको स्थायी समिति बैठकमा आन्दोलनको समीक्षा गर्दै थप प्रभावकारी बनाउने विषयमा छलफल भएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आन्दोलनको समीक्षा र भावी कार्यक्रमको रणनीति तय गर्ने गरी छलफल अगाडि बढेको छ ।

पन्तले भन्नुभयो– ‘असंवैधानिक कदमका विरुद्धमा आम नागरिक समाज, बुद्धिजीवी, न्यायपालिका र व्यवस्थापिकाको साथ छ, यो साझा आन्दोलनको रुपमा अगाडि बढ्छ ।’ अबको आन्दोलन पार्टी विशेषको नहुने बताउँदै उहाँले संविधान र लोकतन्त्र जोगाउन आमनागरिक एकताबद्ध भएर आन्दोलन अगाडि बढ्ने बताउनुभयो । स्थानीय समिति बैठकमा प्रदेशका इन्चार्जहरुले अहिलेको परिस्थतिको बारेमा रिपोटिङ गरेका थिए ।