माघे संक्रान्तिनजिकिएसँगै बजारमा तरुलको कारोबार वृद्धि


काठमाडाैं ।  माघे संक्रान्तिनजिकिएसँगै बजारमा तरुलको कारोबार वृद्धि भएको छ । माघे संक्रान्तिका लागि तरुलको कारोबार वृद्धि भएकाे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार यसपालि अघिल्लो वर्षको जस्तो  मूल्यमा तरुलको कारोबार भइरहेको छ ।

गएका वर्षहरुमा जस्तै यसपालि सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिएको छ । सस्तोसँगै मिठो र यो तरुलले तरकारीमा आलुको पनि काम गर्ने भएकाले उपभोक्ताको आकर्षण यसमा धेरै रहेको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो ।

उहाँकाअनुसार बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । थोक बजारमा अहिले पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ । यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेको छ ।

सिमल तरुलको कारोबार यसपालि खासै नभएको व्यवसायीले बताएका छन् । यस्तै यसपालि स्कूसको जराको पनि खासै कारोबार नभएको कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताउनुभयो । अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष स्कूसको जराको कारोबार धेरै हुने गरेकोमा यसपालि घटेको उहाँको भनाइ छ । बजारमा आज स्कूसको जरा किलोको ८० देखि १ सय रुपैयाँ थोक मूल्य छ ।

बजारको मागअनुसारकै तरुल भित्रिरहेकाले भाउ खासै नबढ्ने पनि उहाँले बताउनुभयो । यसैबीच, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुद्रामा तरुललगायतका तरकारी खरिद गर्दा महँगो पर्न जाने भएकाले थोक बजारमा नै गएर तरकारी किन्न उपभोक्तालाई सुझाव दिएको छ । थोक बजारमा उपभोक्ताले साढे दुई किलोदेखि माथि किन्दा थोक मूल्यमा नै तरकारी पाउने समितिले जनाएको छ ।